Aamsanchar

नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना भारतमा पक्राउ

Author Image
बुधवार, वैशाख १२, २०८१

धनगढी – नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ। मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ।

पलिया थानाका ईञ्चार्ज विवेककुमार उपाध्यायको नेतृत्वमा, उपनिरीक्षक तथा पलिया कस्बा प्रभारी उदयबीर यादव, कबच सर्विलेन्स सेलका उपनिरीक्षक प्रसान्त श्रीवास्तव, जवानहरु ललित कुमार, परिक्षीत सैनी, संदीप चौधरी र पवन यादब सहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।दुबैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन्। ईविगुल डटकमले विक्की नेपाली भनिने विक्की गुप्तासहितका सीमापारीका कारोबारीहरुको तस्बिरसहित पुस २४ गते रिपोर्ट प्रकाशित गरेको थियो।

कैलाली प्रहरीले पनि दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको जनाएको छ। ‘दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। हामीले भारतको निर्वाचन केन्द्रित दुई देशका अधिकारीहरुको बैठकमा यो कुरा प्राथमिकताका साथ उठाएका थियौं, भारतीय समकक्षीहरु एक्सनमा गएछन्, राम्रो काम गरे’, कैलालीका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने।

विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए। उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजी गरेको थियो।

उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभित्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए। २०८० सालको असारको महिना धनगढीकी कमला देवी अवस्थीको साथबाट बरामद भएको ब्राउन सुगर यिनै विक्की गुप्ताले विस्कुटभित्त्र पठाएको खुलेको थियो।

कमला, ब्राउन सुगरकै कारोबारमा पक्राउ परेका छोरा र बुहारीलाई खाना पुर्‍याउन कैलाली कारागार जाने बेला गेटमा चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको थियो।

उक्त ब्राउन सुगर पनि विक्की नेपाली भनिने विक्की गुप्ताले पठाएको खुलेको थियो। प्रहरीले त्यही दिनदेखि नै उनको खोजी सुरु गरेको थियो। लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी भारतको पलियामा डेरा गरी बस्दै आएका थिए।

अंकित माल्याको नाम नै भारतमा ‘ड्रग्स किंग’ हो। उनी पलियामा बसेर नेपालका लागि ब्राउन सुगरको कारोबार गर्ने ब्यक्ति हुन्। नेपालका कञ्चनपुर, कैलाली, बाँके र बर्दिया जिल्ला आसपासमा ब्राउनसुगरको कारोबार गर्ने नेपालीहरु उसकोबाट लागुदार्थ किन्ने गर्छन्। उनलाई, नेपाल प्रहरीको लागुपदार्थ ब्युरोले लाखौंको कारोबार गर्ने भनेर नेपाल बोलाउन चाहे पनि उनी नेपाल नआएका व्यक्ति हुन्। नेपालमा ब्राउन सुगरको कारोबारमा पक्राउ परेर अहिले जेलमा रहेका अधिकांश ब्यक्तिको बयानमा पनि अंकितले दिएको उल्लेख छ। भारतीय प्रहरीले उनीहरुलाई भारतको एनडिपिएस एक्टको धारा १६९ अनुसार मुद्धा चलाउने जनाएको छ।
नेपाल भारतको सीमा बैठकका बेला, विक्कीसहितका दर्जनभन्दा बढी सीमापारी ब्राउन सुगरको कारोबारीहरुको तस्बिर, फोन नम्बर सहितको विस्तृत विवरण नेपाल प्रहरीले भारतीय प्रहरीलाई बुझाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर