इलाम-इलाम–२ को उपनिर्वाचनका लागि वैशाख १५ गते अर्थात् शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्ला भरिनै बिहान ५ देखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको छ ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसहित बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतदानका दिन शान्ति सुरक्षा कायम राख्न सहज हुने निष्र्कषसहित यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । बैठकले अत्यावश्यक र अनुमति प्राप्त सवारी बाहेकका सबै सवारी बन्द गर्ने निर्णय गरेको हो ।
मतदानका दिनलाई छिमेकी जिल्लाहरु झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने प्रजिअ यादवले जानकारी दिनुभयो ।
सञ्चारकर्मीका लागि भने सञ्चार संस्थाको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराइने भएको छ । बैठकमा मतदानका दिन हिँड्डल गर्न नसक्ने, गर्भवती महिला, आफ्नै साथमा बच्चा बोकी आएका महिला, किरियापुत्री, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउन र फर्कन सर्वपक्षीय र सर्वदलीय सहमातिमा मतदान अधिकृतबाट सवारी अनुमति पत्र उपलब्ध गराउने निर्णय भएको छ ।