Aamsanchar

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा धरानमा प्रभातफेरी

Author Image
शुक्रवार, वैशाख २१, २०८१

धरान-विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा धरानमा प्रभातफेरी कार्यक्रम गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आयोजित प्रभातफेरी कार्यक्रम धरान उपमहानगरपालिकाको कार्यालयदेखि सुरु भई चतरालाइन, छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपालमा पहिलो पटक प्रेस स्वतन्त्रता दिवसको सुरुवात २०५४ (सन् १९९८)सालदेखि धरानबाट सुरु गरिएको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताउनुभयो । आफू पत्रकार महासङ्घको अध्यक्ष भएको बेलामा २७ वर्ष अघि सीमित पत्रकारहरुबाट शुरु गरिएको उहाँले बताउनुभयो । पछि नेपालका अन्य ठाउँहरुमा पनि सुरु गरिएको र हालसम्म आइपुग्दा पत्रकार महासङ्घले आफ्नो क्षमता धेरै बढाएको वरिष्ठ पत्रकार सुब्बाले बताउनुभयो ।

नेपालको विभिन्न आन्दोलनमा पत्रकार महासङ्घले प्रमुख भूमिका खेलेको उहाँले बताउनुभयो । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता जबसम्म हुँदैन तबसम्म प्रजातन्त्र, लोकतन्त्रको सम्भावना हुँदैन भन्ने जरुरी रहेकोले २०४६ सालको आन्दोलन र दोस्रो जन जन्दोलनमा पत्रकार महासंघले नेतृत्व गरेकोे वरिष्ठ पत्रकार सुब्बाले बताउनुभयो ।

पछिल्लो समय इन्टरनेटको तीव्र गतिसँगै सञ्चार माध्यमलाई पनि फराकिलो बनाएको छ त्यसले सञ्चार माध्यमलाई कता लैजान्छ र अब कसरी सञ्चार माध्यमहरुले मर्यादित, अनुशासित र देश विकास, परिवर्तन, गर्नसक्छ र कसरी अगाडि बढाउन सकिन्छ भन्ने बहस गर्दै सबै पत्रकारले सङ्कल्प गर्नुपर्नेमा र सरकारले पनि नियमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

जहाँ प्रेस स्वतन्त्रता हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ, जहाँ प्रेस स्वतन्त्रता हुदैंन त्यहाँ लोकतन्त्र बच्न सक्दैन भन्ने मुल्य र मान्यताको साथ लोकतन्त्रको अभिन्न अंग, लोकतन्त्रको जीवन्त अङ्गको रुपमा प्रेस स्वतन्त्रता अँगाल्नुपर्ने उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो ।

लोकतन्त्र बच्यो भने प्रेस स्वतन्त्रता बच्ने भएकोले यसलाई पत्रकारहरुले पनि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । त्यसैले जे जो हो त्यही सूचना सम्प्रेषण गर्ने र सही सूचना प्रवाह पत्रकारहरुले गर्नुपर्ने उपप्रमुख बेघाले बताउनुभयो ।

पछिल्लो समय धरान चर्चाको विषय भएको छ धरान हरेक कुराको उर्वर, सृजनशील रहेको ठाउँ हो तर पछिल्लो समय धरानमा अराजकता भएको छ, सूचना सम्प्रेषण धेरै भएको छ तर सही सूचना कुन हो भन्ने यकिन नहुने भएको निवर्तमान नगरप्रमुख तिलक राईले बताउनुभयो । हाल सञ्चार माध्यम व्यापारको माध्यम भएको छ जुन अनलाइनमा देखेको सामान लिए जस्तै निल्नु न ओकल्नु भएको उहाँले बताउनुभयो । त्यसैले मूलधारको छापाखााना, सञ्चार माध्यमहरुले जिम्मेवारीपूर्वक आफ्नो कार्य गर्न सबै पत्रकारलाई निवर्तमान नगरप्रमुख राईले आग्रह गर्नुुभयो ।

पत्रकार भनेको ऐना हो समाजका भएका राम्रा नराम्रा कुराहरुको सम्प्रेषण गर्न र हरेक काम, आन्दोलनहरुमा पत्रकारको प्रमुख भूमिका हुने प्रदेश सांसद विजयकुमार राईले बताउनुभयो । पत्रकार व्यक्ति पार्टीको हुनुहुँदैन पत्रकार भनेको स्वतन्त्र हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको सचिव ध्रुव ढकालले सञ्चालन गरेकोे उक्त प्रभातफेरी कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्रविक्रम बेघा, निवर्तमान नगरप्रमुख तिलक राई, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायत सञ्चारकर्मीहरु, राजनीतिकर्मी, सङ्घसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर