बिर्तामोड । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नयाँ खेलाडी खोजी गर्ने कार्य अन्तरगत १३ वर्ष मुनिका खेलाडी छनौट गर्दा झापा बिर्तामोड –२ मा रहेको एकता स्पोर्टिङ क्लबमा आवद्ध चारजना खेलाडी एन्फाको छनौटमा परेका छन् ।

छनौटमा परेका १३ वर्ष मुनिका खेलाडी मिसन हास्दा, सुसन राई, सुप्रिम बास्तोला र लक्की किस्कु लाई आज एक कार्यक्रमका बिच एकता स्पोर्टिङ क्लबले बिदाई गरेको छ । मिनस हस्दालाई भने पोखरा स्थित सहारा क्लबमा तालिम लिन पठाइएको हो ।

खेलाडीहरूलाई एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेल, बिर्तामोड नगरपालिका २ नम्बर वडाध्यक्ष किशोर पौडेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) स्पोर्टिङ क्लबका उपाध्यक्ष खेमराज गिरी, सचिव रमेश उप्रेतीलगायतले बिदाई गरेका हुन् ।

एकता स्पोर्टिङ क्लबले स्थानीय बालबालिकाहरूलाई फुटबल प्रशिक्षण गराउँदै आएको छ । हाल १ सय भन्दा धेरै बालबालिकाहरू एकतामा आवद्ध बनेर फुटबल खेल सिक्दै आएको अध्यक्ष पौडेलले बताए ।


एन्फा नेपालको फुटबलको नियामक निकाय हो । यो राष्ट्रिय टोलीको साथ साथै क्लब प्रतियोगिताहरूको लागि जिम्मेवार छ । सन् १९५१ मा अखिल नेपाल फुटबल सङ्घको रूपमा स्थापना भएको यो संस्था सन् १९७२ मा फिफामा आबद्ध भएको थियो ।

