Aamsanchar

उपभोक्तालाई राहत, पेट्रोलियम पदार्थको मुल्य घट्यो

Author Image
बिहिवार, जेठ ३, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । यसपालि छिमेकी मुलुक भारतबाट आयात गर्नेक्रममा नै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले सोहीअनुसार भाउ घटाएर मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

बुधबार निगम सञ्चालक समितिले गरेको नयाँ मूल्य समायोजनको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । समायोजन गरी घटेको नयाँ मूल्य बिहीबार बिहान १ बजेपछि लागू हुनेछ ।

निगमले ढुवानी तथा लागत खर्चअनुसार मुलुकभरका विभिन्न ठाउँलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन वर्गमा विभाजन गरी फरकफरक मूल्य निर्धारण गर्दै आएको छ ।

सोही तीन किसिमको वर्गअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यकालगायतका क्षेत्रमा हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर रहेकोमा अब सो मूल्य घटेर प्रतिलिटर १ सय ७१ रुपैयाँ कायम गरिको छ ।

यसैगरी, डिजेल र मट्टितेलको मूल्य अधिकतम तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकालगायतका क्षेत्रमा प्रतिलिटर १ सय ५९ रुपैयाँ रहेकामा सो मूल्य घटेर प्रतिलिटर १ सय ५४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले अहिले यहाँ सोहीअनुसार मूल्य घटाएर समायोजन गरिएको निगमले जनाएको छ ।

अहिले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य ६ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ०९ पैसाले घटेर आएको थियो । पेट्रोलियम पदार्थको मूल्य घटेपछि अब सवारी साधनलगायत अन्य सबै मालसामान ढुवानीको लगातसमेत केही घट्नेछ । जसका कारण चर्को मूल्यवृद्धिको मार खेप्न बाध्य उपभोक्तालाई केही राहत मिल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर