बिर्तामोड । नेपाल सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधा झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर मा पनि उपलब्ध हुने भएको छ ।
बीएण्डसीमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा इस्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको हो ।
नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रबारदेखि सुचारु गरेको जानकारी दिइएको छ । अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीसहित चिकित्सकहरूले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।
स्थानीय तहको समितिले सिफारिस गरेर अस्पताललाई पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना बाट घाइतेहरूको हकमा भने उपचार भइसकेपछि डकुमेन्ट ल्याउन सकिने पनि व्यवस्था छ ।
कोही पनि विपन्न नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो । बीएण्डसीमा एक लाख रुपैयाँसम्मको हेड तथा इस्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु गरिएको अस्पताल प्रशासन पक्षले जनाएको छ । उक्त कार्यक्रम अन्तरगत एक लाख रुपैयाँसम्मको सेवा अस्पतालबाट लिन पाइनेछ । विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत एक लाख भन्दा कम उपचार खर्च भए त्यो रहने र बढी भए त्यसलाई बिरामीले बेहोर्नु पर्ने बताइएको छ ।
अस्पतालले चाडैं स्वास्थ्य बिमा कार्यक्रम समेत पुनः सुचारु गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै नेपाल सरकारसँगको सहकार्यमा निशुल्क डायलासिस सेवा समेत सुरु गर्न लागिएको जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए ।