Aamsanchar

३ बजेका लागि सर्‍यो बजेट भाषण

Author Image
मङ्गलवार, जेठ १५, २०८१

काठमाण्डौ – बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ ।

आज आउँदो आर्थिक वर्षको बजेट आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले स्रोत अभावकाबीच आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले झन्डै साढे १९ खर्ब रुपैयाँको बजेट पेश गर्ने गरी तयारी भएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले बताएका छन् । राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्ब रुपैयाँको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो । तर सरकारले चालू आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । शुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षामार्फत बजेट घटाउँदै आएको छ । करका दरभन्दा पनि दायरा बढाउने भनिए पनि त्यसमा विशेष कार्यक्रमको सम्भावना नयाँ बजेटमा न्यून देखिन्छ । यद्यपि विद्युतीय गाडी र बढी मूल्यका अरू गाडीमा भने केही कर बढाउने तयारी छ । राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको तयारी छ ।

सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटरब्याज, लघुवित्त र सहकारीका समस्या समाधान गर्न तथा जलवायु अनुकूलन क्षमता बढाउने लगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर