विराटनगर – आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ सुरू भएको छ। विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड` ले मेलाको उद्घाटन गरेका हुन्।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा मेला बिहीबार र शुक्रबार दुई दिन चल्नेछ। सरकारी र निजी क्षेत्रबीचको साझेदारी बढाउँदै रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको मेलामा आवश्यक सीप र क्षमता विकासका विषयमा पनि जानकारी गराइने छ । रोजगारीसँग जोडिएका समस्या र गुनासा सुनेर समाधानका प्रयास हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
मेलाको मुख्य उद्देश्य रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एउटै मञ्चमा मिलाउनु, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्नु रहेको बताइएको छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ,होटल संघ नेपाल लगायतका ५० वटा स्टल रहने छ ।
औद्योगिक नगरीका रुपमा चिनिएको विराटनगरको स्थित सिटी पार्टी प्यालेसमा जेठ १७ र १८ गते मेला आयोजना हुने छ । मेलामा सात सय जनाको आवेदन आउने र कम्तिमा दुई सय ५० जनाले रोजगारी पाउने अनुमान आयोजकको छ ।
विराटनगरबाट सुरु भएको सो मेला देशका सातै प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने बताइएको छ । बागमती प्रदेशमा जेठ ३० गते मेलाको समापन हुनेछ ।