Aamsanchar

गृहमन्त्रीलाई काँग्रेसकाे प्रश्न: मापसे गरेकालाई बिहान सडकमा उभ्याउने नियम कुन कानूनमा छ ?

Author Image
आइतवार, जेठ २०, २०८१

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवा गर्न लगाउने गृह मन्त्रालयको निर्णयप्रति आपत्ति जनाएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका हुन्।

मुलुकलाई कानुनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानुनबिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने सांसद खतिवडाले बताए। कानुन बनाएर त्यसो गरिए कांग्रेसले त्यसको स्वगत गर्ने उनले बताए।

‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरूलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नुभएछ। कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहन्छौँ। राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ। तर, मुलुक हुकुमी शासनमा चल्ने होइन। कानुन अनुसार चल्नुपर्छ। कुनै पनि काम गर्दा कानुन निर्माण गरेर, कानुनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो। हामीले देख्यौँ। मापसे गरेका मान्छेहरुलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे’, उनले भने, ‘यो कुन कानूनमा र कुन नियममा छ ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि ?मन्त्रालयबाट पत्राचार भएको छ कि ? यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौँ।’

उनले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे। ‘मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन। कानुनअनुसार चलाउनु पर्यो‍। कसैको शोषण गर्न पाइँदैन’, खतिवडाले भने, ‘पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो। कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)