Aamsanchar

पूर्वपश्चिम सडक विस्तारको क्रममा काटिएका रूखकाे बराबर वृक्षरोपण हुने सम्झौता छ : मन्त्री उप्रेती

Author Image
आइतवार, जेठ २०, २०८१

दमक- कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेशप्रसाद उप्रेतीले विभिन्न ठुला तथा साना पूर्वाधार निर्माण गर्दा मासिएका बोटबिरुवा तथा रुखहरुको विकल्पमा वृक्षरोपण हुनुपर्ने बताउनुभएको छ । उहाँले वातावरण मैत्री पूर्वाधार विकासमा जोड दिँदै यस्तो बताउनुभएको हो ।

नयाँ भौतिक पूर्वाधार निर्माण हुँदा तथा पुराना पूर्वाधार विस्तारको क्रममा मासिने गरेका बोटबिरुवा तथा रुखहरु रोप्न त्यस्तो निर्माण गर्दाको समयमा नै सम्झौता गरेर काम अघि बढाइने उल्लेख गर्नुभयो । झापाको दमकमा भएको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले अहिले पूर्वपश्चिम सडक विस्तारको क्रममा सडक किनारमा रहेका रुखहरु धेरै काटिएको र यहाँ काटिएको रुख बराबर वृक्षरोपण पनि हुने जानकारी दिनुभयो ।

´यहाँ काटिएका रुखको विकल्पमा राम्रा प्रजातिको विभिन्न बोटबिरुवा रोपिने सम्झौता भएको छ र त्यसै अनुसार रुख कटान भएको हो`, उहाँले भन्नुभयो । सडक स्तरोन्नतिको काम गरिरहेको कम्पनीले वृक्षरोपण गर्ने उहाँले जनाउनुभएको हो ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति गर्ने क्रममा काँकडभिट्टादेखि लौकहीसम्म पूर्वी खण्डमा मात्र ४ हजार ७ सय वटा रुख कटान भएको जनाइएको छ । रुख कटानले सडक आसपासको क्षेत्र उजाड बनेको छ । भौतिक संरचनाहरु निर्माण र विस्तार गरिँदा अब हरितमैत्री बनाउने योजना अघि सार्ने सोचमा प्रदेश सरकार रहेको उप्रेतीको भनाइ छ । अब बन्ने संरचनाहरु वातवरण मैत्री बनाउने बनाउने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)