Aamsanchar

९ महिनामा विद्युत् प्राधिकरणले ११ अर्ब रुपैयाँ नाफा कमायो

Author Image
शुक्रवार, जेठ २५, २०८१

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालू आर्थिक वर्षको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार बिजुली खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः बिजुली बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यस अवधिमा ११ अर्ब छ करोड रुपैयाँ नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गएको आर्थिक वर्ष २०७९/८० को त्यही अवधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो । गएको आर्थिक वर्षको मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२र७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूदेखि निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको बिजुली निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा प्राधिकरण चालू आर्थिक वर्षको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको हो ।

प्राधिकरणले चालू आर्थिक वर्षको नौ महिनामा बिजुली बिक्रीबाट ६८ अर्ब ८९ करोड रुपैयाँ खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट बिजुली खरिदका लागि ३८ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

यस अवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोड रुपैयाँको बिजुली भारतबाट आयात गरिएको छ । आन्तरिक रूपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

आफ्नो स्रोतबाट झन्डै १८ अर्ब रुपैयाँ खर्च

प्राधिकरणले आफूले कमाएको नाफाबाट चालू आर्थिक वर्षको चैत महिनासम्ममा १७ अर्ब ८२ करोड रुपैयाँ बिजुली उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा लगानी गरेको छ । यस अवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई एक अर्ब ६३ करोड रुपैयाँ ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यस अवधिमा वैदेशिक सहायतातर्फबाट १४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारको बजेट सीमितताका कारण प्राधिकरणले लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेको छैन । यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट बिजुली उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौँ रुपैयाँ लगानी गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर