Aamsanchar

काठमाडौंमा हैजाका बिरामी भेटिए

Author Image
शनिवार, जेठ २६, २०८१

काठमाडौं – काठमाडौंमा हैजाका बिरामी भेटिएका छन्। दुई साताअघि गम्भीर झाडापखालाका बिरामी भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक ६२ वर्षीय पुरुषमा परीक्षणको क्रममा हैजा संक्रमण पुष्टि भएको हो।

स्थायी ठेगाना मकवानपुर जिल्ला भएका उनी काठमाडौंमै बसोबास गर्ने गरेको पाइएको छ। अत्यधिक रूपमा झाडापखला लागेर अस्पताल पुगेका उनलाई लक्षणको आधारमा चिकित्सकले हैजा परीक्षण गर्दा हैजा संक्रमण पोजेटिभ आएको अस्पतालक सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले बताए।

उनले भने, ‘कडा खालको झाडापखालाको समस्या लिएर उक्त बिरामी हामीकोमा आउनुभएको थियो हामीले भर्ना नै गरेर उपचार गरेका थियौँ पछि लक्षण कडा देखिएपछि हैजाको पनि परीक्षण गरेका थियौँ पोजेटिभ आयो तर अहिले उहाँ स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भइसक्नु भएको छ।’

यस्तै, यतिखेर अस्पतालमा झाडापखलाका बिरामी पनि धेरै आउने गरेकाले हैजाको जोखिम झनै बढ्दै गएको उनले बताए। ‘ वर्षातको मौसममा हामीले खाने पानीको मुहान तथा खानेपानी आउने पानीमा ढल मिसिने जोखिम धेरै हुन्छ जसले यो समयमा झाडापखलाका साथै हैजाको जोखिम धेरै हुन्छ त्यसैले खानेपानीदेखि अन्य खानेकुराको सरसफाइमा विशेष ध्यान दिनुपर्छ’ उनले भने।

काठमाडौंमा यस अघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो। त्यस समयमा सुरुमा बागबजारमा एकै परिवारका दुई दिदी बहिनीमा हैजा संक्रमण पुष्टि भएको थियो। त्यसपछि बूढानीलकण्ठ, कालीमाटी लगायतका स्थानमा गरेर ७७ जना हैजाका बिरामी पुष्टि भएका थिए।

हैजा ‘भिब्रिओ कोलेरा’ नामक जीवाणुको सङ्क्रमणका लाग्ने र यो जीवाणु प्रायः दूषित पानीमा हुने डा पुनले बताए। सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने उनको भनाइ छ।

हैजाको जीवाणुको मानव शरीरमा प्रवेश गरेको केही घण्टादेखि ५ दिनभित्र यसका लक्षणहरू देखिने उनले बताए। ‘मानव शरीरमा हैजाको जीवाणु प्रवेश गरेको केही घन्टादेखि ५ दिनसम्ममा लक्षण देखाउने गर्छ, लक्षण देखिएपछि समयमा नै चिकित्सकको निगरानीमा बसिएन भने यसले गम्भीर स्वास्थ्य समस्यासमेत निम्त्याउने गर्छ‚’ डा पुनले भने।

हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसलाई चौलानीजस्तो पातलो दिसा पखाला चल्ने, टाउको दुख्ने तथा बान्तासमेत हुने हुँदा शरीरमा पानीको मात्रा अत्यन्त न्यून हुने हुँदा सबैभन्दा पहिले मिर्गौलामा असर गर्ने डा पुनले बताए।

‘हैजा संक्रमण भएपछि धेरै पखाला लाग्ने हुँदा मानव शरीरमा पानीको मात्रा कम हुन्छ जसले गर्दा शरीरका लागि आवश्यक तत्वहरूसमेत कम हुँदै जान्छ र विस्तारै शरीरको मल्टिअर्गानहरू फेलिएर हुनेतर्फ जान्छन्। हैजा संक्रमण देखिएपछि यसको असर छिटो मिर्गौलामा देखिने गर्छ‚’ उनले भने।

हैजा संक्रमण देखिएपछि समयमै उपचार नगरे मानिसको ज्यानै जानसक्ने उनको भनाइ छ। हैजाको लक्षण देखिएर अस्पताल आउने बिरामीलाई स्लाइन पानीका साथै बिरामीको अवस्था हेरेर एन्टिबायोटिक प्रयोग गरी उपचार गरेपछि विस्तारै ठिक हुँदै जानेसमेत उनले बताए।

हैजा र झाडापखाला कसरी छुट्याउने

उस्तै खालका लक्षणहरू देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किनेसमेत बताउँछन् डा.पुन. उनका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा धेरै पातलो हुने गर्छ।

उनका अनुसार दिसाबाट चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि शरीरबाट बाहिरिन्छन्। शरीरलाई आवश्यक पर्ने तत्वहरू न्यून हुँदै जान्छ।

पटकपटक बान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश बिरामीमा देखिने उनले उनको भनाइ छ। तरल पदार्थ धेरै खेरजाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने उनले बताए। बिरामी धेरै थाक्ने र धेरै खटपट हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

कसरी बच्न सकिन्छ ?

डा पुनका अनुसार हैजाबाट जोगिने मुख्य उपाय भनेकै दूषित पानी नखानु हो। फोहोरबाट पनि हैजा फैलने हुँदा सकेसम्म आफू बस्ने ठाउँ वरिपरि र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।

पानी उमालेर खान र बासी तथा सडेगलेको खानेकुरा नखान पनि डा पुनको सुझाव छ। पानीपुरी‚ चटपटे, फुल्काजस्ता सडक छेउमा खुल्ला रूपमा राखिएका खानेकुरा तथा नछोपी राखिएका फलफूल र अन्य खानेकुराबाट पनि हैजाको जीवाणु मानव शरीरमा पस्ने हुँदा यसरी खुल्ला रुपमा राखिएका खानेकुरा खान नहुनेसमेत डा पुनको सुझाव छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)