हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी गरिएको छ ।
हल्दीबारी बाल सञ्जालको आयोजना र हल्दीबारी गाउँपालिकाको समन्वयमा हिजो आइतबार हल्दीबारी गाउँपालिकाको सभाहलमा एक दिवसीय विज्ञान प्रर्दशनी भएको हो ।

‘समृद्धिका पालक, हल्दीबारीका बालक’ भन्ने नारा दिएर विद्यार्थीहरूलाई समयसापेक्षको प्रविधिमैत्री शिक्षा उपलब्ध गराउँदै आएको हल्दीबारी गाउँपालिकाले अन्तर विद्यालय विज्ञान प्रर्दशनी गराएर भविष्यको लागि विज्ञान प्रविधि क्षेत्रको आविश्कारक, वैज्ञानिक खोजी गर्ने कामको रुपमा विज्ञान प्रदर्शनी कार्यक्रमलाई गाउँपालिकाले लिएको हल्दीबारी गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रविन्द्र प्रसाद लिङदेनले बताए । उनले भने ‘विद्यार्थीलाई शैक्षिक क्षेत्रमा टिक्न सक्ने र रोजगारीको हिसाबले विश्वमा बिक्न सक्ने विद्यार्थी तयारीगर्न गाउँपालिका लागिपर्दै आएको छ ।’

विज्ञान प्रदर्शनीमा हल्दीबारीका ८ वटा माध्यमिक विद्यालयको तर्फबाट विद्यार्थीहरूले विज्ञान, प्रविधिको नमुना परियोजनाहरू प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा जलविद्युत, सौर्य उर्जा, रोवट, जंगली जनावर खेदाउने तोप लगायतका उपकरणहरू प्रदर्शनीमा राखिएको थियो ।



विद्यालयहरूले प्रर्दशनमा राखेको विज्ञान सामग्रीको मुल्याङकन गाउँपालिकाका प्रशासन शाखा प्रमुख बाबुराम ढकालले गरेका थिए ।
हल्दीबारी बाल सञ्जालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा आयोजित विज्ञान प्रदर्शनीमा वडा नम्बर १ का वडाध्यक्ष देवी थापा, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापामगर लगायतले विज्ञान प्रदर्शनीबाट विद्यार्थीहरूमाझ आविश्कार गर्ने हौसला प्राप्त हुने धारणा राखेका छन ।
औपचारिक कार्यक्रमको सञ्चालन बाल सञ्जालका सत्यम् नेपालले गरेका थिए ।

