Aamsanchar

जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गरेकाे खुलासा

Author Image
सोमवार, जेठ २८, २०८१

उर्लाबारी-मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बूले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बूको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बूलाई पदमबहादुर लिम्बूसँग विवाह दर्ता गराएका हुन् ।

२०८१ वैशाख २३ गते जितबहादुर लिम्बूको मृत्यु भएको भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही दिन होमादेवी लिम्बू सूचक भएर छोरा विपन सुब्बा लिम्बूको जन्मदर्ता प्रमाणपत्र लिइएको देखिन्छ । जितबहादुर र होमादेवी दम्पती हुन् । तर सोही होमादेवी लिम्बू दुलही र पदमबहादुर लिम्बू दुलाहा भएर निजहरूले विवाह दर्ता प्रमाणपत्रसमेत लिएका छन् ।

विवाह दर्तामा होमादेवीका श्रीमानको नाम पदमबहादुर लिम्बू भए पनि मृत्यु दर्तामा भने जितबहादुर लिम्बू उल्लेख छ । विवाह दर्ता र मृत्यु दर्तामा नाम फरक भए पनि जितबहादुर र पदमबहादुरको नागरिकता नम्बर भने एउटै ९७५६४–२६३० नै छ । अझ रोचक पक्ष के छ भने विवाह दर्तामा पदमबहादुरको बाबुको नाम शेरबहादुर लिम्बू छ भने मृत्यु दर्तामा सिंहबहादुर लिम्बू छ ।

रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो – वास्तविकता छानबिन गरी कारबाही अगाडि बढाइनेछ । वडा सचिव सरोज ढकालले तीन वटै दर्ता प्रक्रिया अगाडि बढाएकाले यसको छानबिन हुने नगरपालिकाले जनाएको छ ।

यस्ता घटना हङकङ, बेलायत, अमेरिकालगायतका स्थानमा विदेसिनका लागि हुने गरेको पाइन्छ । आर्थिक प्रलोभनमा परेर कर्मचारीहरूले जथाभाबी कागजात बनाइदिने गरेको पाइन्छ । सरकारले वास्तविक विवरणसहितको राष्ट्रिय परिचयपत्र दिन सुरु गरेसँगै यस्ता फर्जी र नक्कली घटनाहरू बाहिरिन थालेको छ भने कागजात मिलाउन उनीहरूलाई समस्या पर्ने गरेकाले सम्पर्कविहीन हुने गरेको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)