Aamsanchar

गर्मी बढेसँगै इलामको पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल

Author Image
बिहिवार, जेठ ३१, २०८१

इलाम- इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल बढेको छ । तराइमा गर्मी बढेसँगै भारतको पश्चिम बङ्गालका क्षेत्रबाट सिक्किम र दार्जिलिङ पहाड घुम्न आउने पर्यटक पशुपतिनगर छिर्ने गरेका छन् ।

पश्चिम बङ्गालका सिलिगुढी, डुवर्स, नक्सल लगायतका स्थानबाट पहाड आएका भारतीय पर्यटक अहिले दैनिकजसो पशुपतिनगर बजार आउने गरेका छन् । उनीहरुले पशुपनिगरमा करिब एक घण्टाको समयमा कपडा, ब्यागलगायत विभिन्न घर सजावटका चीनियाँ सामग्री किनमेल गरेर फर्कने गरेका छन् ।

अहिले पशुपतिनगर बजार पनि यिनै भारतीय पर्यटकको भरमै चलिरहेको छ । पशुपतिनगरको फाटक नजिक राखिएको पर्यटन सूचना केन्द्रको तथ्याङ्कअनुसार गएको वैशाख महिनामा चार हजार ५७ र यो जेठ महिनाको आजसम्ममा पाँच हजार छसय जना भारतीय पर्यटक नेपाल आएका छन् ।

करिब २०–२२ वर्षअघि दैनिक लाखौंको कारोबार हुने पशुपतिनगरको अहिलेको व्यापारिक अवस्था भने निकै दयनीय भएको सूर्योदय नगरपालिका –२ का वडा सदस्य उपेन्द्रराज पाण्डे बताउनुहुन्छ ।

‘पहिला बिहान ८–९ बजेदेखि पशुपतिनगर बजारमा गाउँ–गाउँबाट आउने नागरिकको खचाखच हुन्थ्यो । त्यो अहिले छैन । हरेक गाउँ–टोलमा सडक सुविधा र यातायातको सुविधाले पनि मानिसहरु टाढाकै बजार जाने गरेको पाइन्छ’ पाण्डे भन्नुहुन्छ, ‘अहिले पशुपतिनगर भारत घुमेर एकैछिनका लागि आउने भारतीय पर्यटनकै भरमा छ । यहाँको व्यापार व्यवसायलाई कसरी टिकाउने भन्ने चिन्ता हामीलाई पनि उत्तिकै छ ।’

पहाडी जिल्लामध्ये भारतसँग सहज बाटो जोडिएको पहाडी नाका त पशुपतिनगर नै हो । तर यो नाकालाई वैधता दिन नसक्दा पशुपतिनगरको आर्थिक गति ओरालो लागेको सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो ।

‘यहाँबाट कृषि उत्पादन अलि–अलि निकासी हुन्छ । भारततिर अध्यागमन छैन । हाम्रो नेपालमा भएको अध्यागमनबाट पनि केही काम हुन सकेको छैन’ राई भन्नुहुन्छ ‘सरकारले केन्द्रीय स्तरबाटै भारततर्फ अध्यागमन स्थापनाको पहल नगर्दा पशुपतिनगरमा आर्थिक संकटको अवस्था छ । यो नाकालाई वैधता दिनु हो भने तेस्रो मुलकका पर्यटक आउन र पूर्वी पहाडमा उत्पादित कृषिउपज निकासी गर्न धेरै सहज हुने अवस्था छ ।’

पशुपतिनगर नाकालाई सुचारु गराउन सक्दा राजस्व सङ्कलन बढ्नेदेखि पूर्वका किसानको आर्थिक अवस्था सुध्रिने कारण देशलाई पनि फाइदा पुग्ने स्थिति रहेको अध्यक्ष राईको भनाइ छ ।

नेपालमा उत्पादन भएका अदुवा, चिया, कुचो, जडीबुटी, आलु, तरकारीजस्ता वस्तुहरू भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाका नै पु र्‍याउनुपर्ने बाध्यता छ । त्यसो त नेपालतर्फ करिब पाँच वर्ष अघि स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा छ । यो कार्यालयमा रहेका कर्मचारी हाजिर गरेर मात्र बस्ने बाध्यता छ ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई भने भारतीय राजदूतसँग अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको बताउनुभयो । ‘भारतीय राजदूतसँग भारततर्फ अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको छ । तर, पश्चिम बङ्गाल सरकारको स्वीकृत नभई केन्द्र सरकारले त्यहाँ अध्यागमन राख्न नमिल्ने जस्तो बुझिन्छ । अब सङ्घीय सरकारले यो विषयमा कूटनीतिक पहल गर्न जरुरी छ ।’

नगरप्रमुख राईले भन्नुभयो, ‘पूर्वी पहाडका लागि कृषि, पर्यटन, उद्योगधन्दा सबै क्षेत्रका लागि भारततर्फ क्वारेन्टाइन राख्न लगाएर पशुपतिनगर नाका खुला गरिनु आवश्यक छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर