Aamsanchar

काठमाडौं महानगर प्रमुख बालेन शाह ब्राजिल प्रस्थान

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आइतबार राति २ः १५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्।

बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने छन्। प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्। प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन्। मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो। सहरी आवास र भवनहरूको विषय यसपटक छलफलको मुख्य विषय रहेको छ।

सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन्।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा प्रमुख शाहले प्यान लिष्टका रूपमा धारणा प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यस्तै,सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुट प्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित रहेर नीति वहस हुने पनि कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)