Aamsanchar

लक्ष्मीपुर स्थित हिमाली माविको शैक्षिक स्तर बढाउन स्थानीय जुर्मुराए, अक्षय कोषमा १६ लाख ५० हजार जम्मा

Author Image
शुक्रवार, असार ७, २०८१

लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका –८ र अर्जुनधारा –५ लक्ष्मीपुरका  सामाजिक अगुवा व्यक्तिहरू स्थानीय हिमाली माध्यमिक विद्यालयलाई शैक्षिक रुपमा अब्बल बनाउन जुर्मुराएका छन् ।
बालबालिकाले राम्रो शिक्षा पाउन सके भने मात्र समाज राम्रो हुने र आफ्नो समाज राम्रो बनाउन आफै लागि पर्नुपर्ने भन्दै त्यहाँका नागरिकहरू सामुदायिक विद्यालयलाई समयानुकूल प्रभावकारी विद्यालय बनाउन लागि परेका हुन ।

विगत १० वर्ष अघि झापा जिल्लाकै नमुना विद्यालयको रुपमा चर्चा पाएको हिमालीलाई थप शैक्षिक र भौतिक विकास गरेर आगामी ५ वर्ष भित्रमा देशमै एक नमुना विद्यालयको परिचय स्थापित गराउने महत्वकाङ्क्षा राखेर स्थानीयबासीले विपन्न वर्गका विद्यार्थीहरूलाई शिक्षा आर्जनमा सहयोग पुर्याउने उद्देश्यले हिमाली माध्यमिक विद्यालयमा अक्षयकोषका लागि रकम घोषणा गरेका छन ।
आज (शुक्रबार) एक कार्यक्रम आयोजना गरेर विद्यालयले १ करोड ५० लाखको अक्षयकोष रकम जम्मा गर्ने लक्ष्यका साथ अक्षयकोष घोषणा कार्यक्रम आयोजना गरेको थियो ।

दाताहरूले आफ्ना परिवारका सदस्यहरूको स्मृतिमा  अक्षयकोषमा रकम थप गरेका छन् । कोष वृद्धिका लागि हिमाली माविका पूर्व प्रधानाध्यापक केशवप्रसाद ओझाले १ लाख, स्थानीय समाज सेवी विद्यालयका पूर्व अध्यक्ष दुर्गा पराजुलीले ५ लाख, पूर्व जनप्रतिनिधि बृहस्पति उप्रेतीले २ लाख, सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले २ लाख, चन्द्रमणि हुमागाईँ र धनकुमारी सुवेदीले १ लाख रुपैयाँ अक्षयकोषका लागि घोषणा गरेको विद्यालयमा शिक्षक टीएन गिरीले जानकारी दिए ।

यस अघि अक्षयकोषमा दमयन्ती खड्का २ लाख, कमलादेवी कटुवाल १ लाख, केदार शमशेर गिरी ५० हजार, पूर्णिमा गिरी ५० हजार, प्रेम (मेनुका) गिरी ५० हजार, केदार ढुङ्गेल ५० हजार, महानन्द निरौला ५० हजार, गुणराज घिमिरे ५० हजार रुपैयाँ प्रदान गरेका थिए । जम्मा भएको र घोषणा भएको रकम १६ लाख ५० हजार भएको बताइएको छ  ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर नेपालको अध्यक्षतामा आयोजित विद्यालय सुधार योजना निर्माण गोष्ठी तथा अक्षयकोष घोषणा कार्यक्रममा कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कटुवाल, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, आदर्श विद्यामन्दिर घैलाडुब्बाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती, हिमाली माविका पूर्व प्रधानाध्यापक केशवप्रसाद ओझा, दाता बृहस्पति उप्रेती, चन्द्रमणि हुमागाईँ लगायतले मन्तव्यको क्रममा हिमाली माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रधानाध्यापक धर्मानन्द निरौलाले कार्यक्रमको औचित्य र भावी ५ वर्षको लागि कार्ययोजना प्रस्तुत गरेका थिए ।  विद्यालयका शिक्षक माधव निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक चित्रकला ओलीले गरेकी थिइन ।

विक्रम सम्वत् २०२० सालमा स्थापना भएको हिमाली विद्यालय ७ कठ्ठा ५ धुर क्षेत्रफलमा रहेको छ । तत्कालीन समाजसेवी बाजवर्ण कटुवाल हाल (स्व.) ले उक्त जग्गा दान गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)