Aamsanchar

इलामको सूर्योदय नगरपालिकाद्वारा किसानलाई चिया टिप्ने मेसिन वितरण

Author Image
बुधवार, असार १२, २०८१

इलाम-इलामको सूर्योदय नगरपालिकाले किसानलाई चिया टिप्ने मेसिन वितरण गरेको छ । अहिले प्रयोगमा रहेको पेट्रोलबाट चल्ने मेसिनले चियाको गुणस्तरमा असर पर्ने भएकाले ब्याट्रीबाट चल्ने मेसिन किसानलाई उपलब्ध गराइएको सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले बताउनुभयो ।

´अब चियालाई पूर्णरुपमा अर्गानिक नगरिए विश्व बजारमा बिक्रीमै समस्या हुने निश्चित छ । किसानहरुको श्रमको कम प्रयोग हुने र गुणस्तरमा पनि असर नहुने कुरामा हामी सचेत छौं, किसानहरुलाई पहिलो पटक यो मिनिटेलर (हाते मेसिन) वितरण गरेका छौं,` नगरप्रमुख राईले भन्नुभयो, `नयाँ मेसिन भएकाले किसानलाई मेसिन चलाउने तालिम र बिग्रियो भने मर्मतको तालिम पनि दिनेछौं ।`

नगरप्रमुख राईले दुई दिनअघि भारतको सिलिगुढीमा आयोजना भएको चिया सम्बन्धी कार्यक्रममा नेपाली चियालाई विषादी हुन्छ कि भनेर शङ्काको दृष्टिले हेर्ने गरिएको कलकत्ताका महावाणिज्य दूतले बताएको जानकारी दिनुभयो । ´पहिला सिएफेलमार्फत नेपाली चियाको परीक्षण गरिन्थ्यो, अब फसाईमार्फत पनि जाँच हुने र भारतीय टी बोर्डले पनि नेपाली विषादी हुन्छ भन्ने विषयमा चासो लिएको कुरा त्यो कार्यक्रममा छलफल भयो,`राईले भन्नुभयो, ´अब नेपाली चियालाई पूर्ण अर्गानिक गरेर गुणस्तरीय उत्पादन गर्नुको विकल्प हामीसँग छैन । किसानहरुले यस विषयमा सचेत हुनुपर्छ ।`

नगरपालिकाले दुई सय ७२ घर परिवारलाई हुनेगरी ५० प्रतिशत अनुदानमा यो मेसिन किसानलाई दिएको हो । करिब ४० लाख रुपियाँको लागतमा २७२ वटा चिया टिप्ने मिनीटेलर किसानलाई उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)