Aamsanchar

विश्व कपमा भारत र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्द भयाे भने के हुन्छ ?

Author Image
शनिवार, असार १५, २०८१

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा आज राति भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल राति सवा ८ बजे बारबाडोसको ब्रिजटाउनमा रहेको केन्सिङ्टन ओभलमा शुरु हुनेछ ।

मौसम पूर्वानुमानको जानकारी दिने एजेन्सीहरूले यो खेलमा वर्षाले प्रभावित पार्नसक्ने अनुमान गरेका छन् । यदि वर्षा भयो भने खेल पूरा हुनका लागि थप १ सय ९० मिनेटको समय दिइनेछ । विजेता बन्नका लागि कुनै पनि टिमले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ । यदि आज थप समयमा पनि १० ओभरको ब्याटिङ नभएमा भोलि ´रिजर्भ डे` को दिन खेल जहाँ छोडिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

आइतवार पनि वर्षाले खेल प्रभावित गर्नसक्ने सम्भावना छ । भोलि पनि खेल नभएमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिनेछ । यदि खेल बराबरी भएमा ´सुपरओभर ` बाट निर्णय हुनेछ । सुपरओभर पनि बराबरी भएमा फेरि एक पटक सुपरओभर हुनेछ । खेलको निर्णय नभएसम्म सुपरओभर दिइनेछ । यदि वर्षाका कारण सुपरओभर पनि भएन भने दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनेछ ।

भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इङ्गल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । भारतले यसअघि सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलङ्कासँग पराजित भएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । दक्षिण अफ्रिकाले अस्ति नै भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो ।

नवौँ संस्करणको यो विश्वकपमा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन् । भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर