Aamsanchar

ताप्लेजुङमा उनन्तीस प्रतिशत धान रोपाइँ

Author Image
शनिवार, असार १५, २०८१

ताप्लेजुङ- ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ। जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षको तुलनामा यसवर्ष आठ प्रतिशत कम रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गतवर्ष असार १५ सम्ममा ३७ प्रतिशत रोपाइँ भएको थियो। ढिलोगरी वर्षा भएका कारण कम रोपाइँ भएको बताइएको छ।

हालसम्म जिल्लाको उच्च अर्थात् लेक क्षेत्रमा रोपाइँ भएको छ। लेकाली भेगमा असार पहिलो साता सम्ममा रोपाइँ सकिनुपर्नेमा यो वर्ष समयमा वर्षा नभएकाले धान रोपाइँ नभएको स्थानीय किसानले बताएका छन्। हिजोआज तल्लो भेग अर्थात् बेँसी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। असार महिनाको सुरुदेखि नै वर्षा भएकाले अहिले रोपाइँ गर्नलाई सहज भएको पनि किसानको भनाइ छ।

यता शनिबार राष्ट्रिय धान दिवसका दिन फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तहमा रोपाइँ गरिएको छ। फुङ्लिङ नगरपालिका–३ क्यानिम टोलमा सामूहिक धान रोपाइँ गरेर दिवस मनाइएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो।

उहाँकाअनुसार राष्ट्रिय कृषक समूह महासङ्घको आयोजना र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।

यस जिल्लाका बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरिएको किसान बताउँछन्। उन्नत जातको धानबालीतर्फ पनि किसान आकर्षित हुँदै गएको पाइएको छ। यहाँ सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धानखेती किसानले लगाउँदै आएका बताइएको छ। ताप्लेजुङमा करिब आठ हजार ३३७ हेक्टर क्षेत्रफल बराबरमा धान रोपाइँ हुने गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर