Aamsanchar

अध्यक्ष ओलीले आज एसईईमा पास भएका विद्यार्थीसँग अन्तरक्रियाका गर्ने

Author Image
बिहिवार, असार २०, २०८१

रुपन्देही –  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदैछन्। रुपन्देहीका एक हजारभन्दा बढी एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया गर्न ओली बुटवल आउन लागेका हुन्।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३‍‍ दशमलव ६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एक ठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तर्क्रिया पनि गर्ने कार्यक्रम तय भएको एमाले रुपन्देहीका सदस्य यम पाण्डेले बताए। एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले अध्यक्ष ओलीसँग बालबालिकाहरूको अन्तर्क्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरूको पनि कार्यक्रममा सहभागिता रहने बताए।

कार्यक्रममा अध्यक्ष ओलीसहित पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताहरू सहभागी हुने उनको भनाइ छ। ओलीसहितका नेताहरूको बिहान साढे १० बजे यति एयरबाट बुटवल आउने गैरेले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर