Aamsanchar

हात्तीबाट बच्न बाहुनडाँगीमा ‘लुना जीपीएस एप्स’ सञ्चालन

Author Image
शुक्रवार, असार २१, २०८१

मेचीनगर । मानव–हात्ती सहअस्तित्व स्थापीत गर्न झापाको बाहुनडाँगीमा हात्ती आगमनको सूचना दिने ‘लुना जीपीएस एप्स’ को उद्‌घाटन भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालमै पहिलोपल्ट मेचीनगर वडा नं. ४ को बाहुनडाँगी बजारमामा स्थापना गरिएको हात्ती आगमनको सूचना दिने ‘लुना जीपीएस एप्स’ को उद्‌घाटन गरेका हुन् ।

जीपीएस स्विच अन गर्दै सभामुख घिमिरेले एप्सको उद्‌घाटन गरेका थिए  । उनले हात्तीलाई तर्साउने र लखेट्ने पुरानो तरिका परिवर्तन गरेर हात्तीमैत्री वातावरण निर्माण गरेर मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताए ।
छिमेकी देश भारतबाट हुलकाहुल दर्जनौं जङ्गली हात्ती नेपाल छिर्ने गौडाको रुपमा चिनिएको बाहुनडाँगीको छोटी भन्सारमा सञ्चालन कक्ष राखेर यो एप्स आजदेखि सञ्चालनमा ल्याइएको हो ।

बर्दियाको उज्यालो नेपाल र समाजका लागि युवा सहकार्य नामक संस्थाको संयुक्त पहलमा यो प्रविधि बाहुनडाँगीमा ल्याइएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।
हात्ती कुन क्षेत्रमा आएको छ र कता जाँदैछ भन्ने जानकारी सर्वसाधारणबाट लिएर आरआरटी नामक स्वयंसेवी युवाहरूको समूहलाई जानकारी दिने र आवश्यक परेमा नजिकको प्रहरीसमक्ष सूचना पुर्याउने कार्य नियन्त्रण कक्षले गर्ने बताइएको छ ।

गाउँमा हात्ती आएपछि जोकोहीले यो एप्स खोलेर आफ्नो लोकेसन एट्याच गर्न सक्छन् । जसका कारण नियन्त्रण कक्षमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । अर्थात हात्ती गाउँ पसेको सूचना एप्समार्फत साइरनले दिनेछ ।
यो प्रविधि जीपीएस प्रणालीमा आधारित भएको उज्यालो नेपालका विज्ञ रमेश नेपालले बताए । एप्स निर्माणमा रु. १० लाख खर्च भएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा आयोजित उद्‌घाटन कार्यक्रममा संविधानसभा सदस्य रबिन कोइराला, उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी, नेकपा एमालेका सल्लाहकार विष्णु प्रसाईं र भीम खवास लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)