Aamsanchar

कोशी प्रदेशमा ६१ दशमलव ६७ प्रतिशत रोपाइँ

Author Image
शनिवार, असार २९, २०८१

झापा – असार २८ गतेसम्म कोशी प्रदेशमा ६१ दशमलव ६७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको असार २८ गतेसम्म ५५ दशमलव ९० प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार पछिल्लो एक सातामा मात्र कोशी प्रदेशमा २७ दशमलव २४ प्रतिशत रोपाइँ भएको हो ।

पानी, मल र विषादीको सहज उपलब्धताले यो वर्ष कोशी प्रदेशमा शतप्रतिशत रोपाइँ हुन सक्ने बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार सबैभन्दा बढी मोरङमा ७१ प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा खेतीयोग्य जग्गा १ लाख १६ हजार ९५६ हेक्टर रहेको छ । जसमध्ये ६९ हजार ८१७ हेक्टरमा धान रोपाइँ हुने गर्छ ।

त्यस्तै, सबैभन्दा कम धनकुटामा ३५ प्रतिशत मात्र रोपाइँ भएको छ । धनकुटामा ४० हजार ७२३ हेक्टर खेतीयोग्य रहेकोमा ४ हजार ९३८ हेक्टरमा मात्र रोपाइँ भएको छ । पछिल्लो सात दिन मौसमले साथ दिँदा झापा, मोरङ र सुनसरीमा ठुलो क्षेत्रफलमा रोपाइँ भएको छ ।

झापामा पछिल्लो सात दिनमा २० दशमलव ५३ प्रतिशत, मोरङमा २६ प्रतिशत र सुनसरीमा ३८ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष कोशी प्रदेशमा ३ लाख ३२ हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने निर्देशनालयको अनुमान छ । गत वर्ष ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान लगाइने अनुमान गरिएकोमा ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

निर्देशनालयले यो वर्ष धानको उत्पादन समेत बढ्ने प्रक्षेपण गरेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार यो वर्ष धानको उत्पादन १३ लाख ८२ हजार १३७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष कोशी प्रदेशमा १२ लाख ९८ हजार ८५५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर