

झापा । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् ।

अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्न सुरू गरिएको हो । उनको यो अभियानलाई सामाजिक कार्यमा सक्रिय रहेका लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लव कन्काई, दुर्गापुर, वाल क्लब सञ्जाल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, कन्काई नगर प्रमुख राजेन्द्रकुमार पोखरेललगायत यहाँका सामाजिक कार्यमा सक्रिय क्लब तथा युवाहरूले साथ दिएका छन् ।
उनले जसको जंगल, उसको मंगलको अवस्था निर्माणका लागि जनावरमैत्री जंगल बनाउन सबैलाई सहभागी बन्न अपिल समेत गरेका छन् । जंगलमा जनावरलाई खाने रूख, बिरुवा, फलफूल नभएका कारण जनावरहरु बस्ती पस्न बाध्य छन्, उनले भने, ‘जनावरमैत्री जंगल भएपछि जंगल क्षेत्रका वासिन्दा शान्तिपूर्ण जीवन गुजार्ने छन्, त्यसैले यो वृक्षारोपण कार्यक्रम सफल बनाउन सबैलाई आग्रह छ ।’

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए । तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले वृक्षारोपण अभियान चलाएका हुन् ।


झापापछि मोरङ, सुनसरी र उदयपुरसम्मको जंगल क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिने उनले बताए ।

