Aamsanchar

किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण

Author Image
सोमवार, असार ३१, २०८१

पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले यहाँका किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ। बाँदर र अन्य वन्यजन्तु नियन्त्रण गर्न किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरिएको हो।

वन्यजन्तुको आक्रमणबाट कृषिबाली जोगाउन किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए। यो क्षेत्रमा बाँदर, दुम्सी, हरिण, खरायो, कौवालगायतका वन्यजन्तुले कृषिबाली खान्छन्। बाली भित्र्याउन नपाएपछि किसान चिन्तित छन्।

केही मात्रामा भए पनि नियन्त्रण गर्न सकिन्छ कि भनेर किसानलाई गुलेली र मट्याङ्ग्रा प्रदान गरेको भट्टराईले बताए। उनका अनुसार वडाध्यक्षमार्फत गुलेली वितरण गरिएको हो। ‘गुलेली देखाएपछि बाँदर भाग्ने गर्छन्। बाली नष्ट गर्ने अन्य वन्यजन्तुलाई समेत धपाउन सहज हुनेछ’, उनले भने।

पहिलो चरणमा गाउँपालिकाले वडा नं। २ र वडा नं। ३ का किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरिएको छ। वितरण गरिएको गुलेलीबाट देखिएको प्रभावका आधारमा अन्य वडामा पनि वितरण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताए।

‘बाली पाक्ने बेला भयो। बाँदर लगायतका अन्य वन्यजन्तुले खान थालिकेका छन्’, उनले भने, ‘तत्काल अन्य विकल्प भएन। किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गर्‍यौँ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर