Aamsanchar

अधिवक्ता नानी विरुद्ध अख्तियारमा उजुरी

Author Image
बुधवार, साउन २, २०८१

काठमाडौँ – अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियारमा उजुरी परेको छ । साउन १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरकर्ताले उजुरी दर्ता गराएका हुन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएकी नानी थापाले सिन्धुपाल्चोक जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतबाट दोहोरो सुविधा लिएको आरोप छ ।

प्रमाणपत्र नम्बर–१६८५१ बाहक थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा.प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् । काठमाडौँ जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् । अख्तियारमा सि–०००१९४ नम्बरमा उजुरी दर्ता भएको उजुरकर्ताले रातोपाटीलाई जानकारी दिए ।

‘किर्ते कागज तयार गरेर सार्वजनिक सम्पत्तिको लाभ लिएको’ आरोप लगाउँदै उजुरकर्ताले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बार काउन्सिललाई पनि बोधार्थ दिएका छन् ।

अधिवक्ता थापाले भने सिन्धुपाल्चोक जिल्ला अदालतमा आफ्नो सम्झौता सकिसकेको बताइन् । थापाले भनिन्, ‘सिन्धुपाल्चोकमा सम्झौता सकिएको छ, काठमाडौंमा मनोविज्ञ हुँ तर, त्यो मेरो नियमित जब होइन ।’

रोष्टरमा भएको सूची अनुसार काठमाडौँ जिल्ला अदालतमा मनोविज्ञको रूपमा काम गरेपनि करिब ४ वर्षदेखि रकम नलिएको थापाले दाबी गरेकी छन् ।

असार २३ मा अधिवक्ता थापाले र काठमाडौँ जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी जवानसँग विवाद गरेकी थिइन् । थापाले जवान जीवन छिनाललाई हातपात गरेको आरोप छ । पार्किङ्ग तर्फको गेटमा सेवाग्राहिलाई सँगै लिएर निस्कन खोज्दा छिनालले उनलाई रोकेका थिए । आफूलाई रोकेपछि अधिवक्ताले थप्पड हानेको सिसिटिभी फुटेजमा देखिन्छ । प्रहरी जवानलाई त्यहाँबाट जिल्ला प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर