विराटनगर – विराटनगरमा मापसे (मादक पदार्थ सेवन)चेकिङ छलेर भागेको मोटरसाइकल नियन्त्रणमा लिँदा लागुऔषध गाँजा बरामद भएको छ । विराटनगर महानगरपालिका–९ शनिमन्दिरमा असइ श्यामदेव यादवको नेतृत्वमा रहेको ट्राफिक प्रहरीले बिहीबार राति ८:२० बजेतिर सवारीसाधन चेकजाँच गरिरहेको थियो । सवारीसाधनका चालकको मापसे चेकजाँच गरिरहेको ट्राफिक टोलीले प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकललाई रोक्न खोज्यो । तर, नरोकिकन मोटरसाइकल लिएर चालक भागेका थिए ।
भाग्ने क्रममा उक्त मोटरसाइकलले पार्किङ गरेर राखिएको अर्को को २० प ८६६८ नम्बरको मोटरसाइकललाई ठक्करसमेत दिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता, इन्सपेक्टर हेमराज ओलीले बताए । उनका अनुसार ठक्करबाट को २० प ८६६८ नम्बरको मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ । त्यसलगत्तै प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकल छाडेर चालक फरार बने ।
लखेट्दै गएको ट्राफिक प्रहरीले केही पर पुगेपछि उक्त मोटरसाइकलका चालक धनकुटाको सहिदभूमि गाउँपालिका–७ का अन्दाजी ३८ वर्षीय जीवन राईलाई नियन्त्रणमा लिएको इन्सपेक्टर ओलीले बताए । उनका अनुसार राईले बोकेको झोला खानतलासी गर्दा १९ किलोग्राम गाँजा फेला परेको छ ।
पक्राउ परेका चालकसहित नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मोटरसाइकलको प्रयोग गरेर गाँजा भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।