उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालय बन्द भएका छन् । गर्मी बढिरहेकाले विद्यालयहरूको गृष्मकालीन बिदा दुई हप्तासम्म लम्बिने भएको हो । पाकिस्तानको केही क्षेत्रमा ५० डिग्रीभन्दा धेरै तापक्रम पुगेकाले सिन्ध प्रान्तका केही क्षेत्रमा विद्यालयहरुले १ महिना अघिदेखि बिदा दिन थालेका थिए ।
जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । त्यहाँ धेरै पटक तातो लहर ‘लु’ चल्ने भएकाले बालबालिका जोखिममा रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सिन्ध प्रान्तका विद्यालय गर्मीका कारण प्रभावित भएका छन् ।
विद्युत् आपूर्ति सङ्कटका कारण १२ घन्टासम्म लोडसेडिङ हुँदा पनि गर्मी धेरै खेप्नु पर्ने स्थानीयले बताएका छन् । गर्मीका कारण विद्यालय बन्द हुनुपर्ने र लोडसेडिङका कारण बालबालिकाले पढ्न नपाउने भएकाले विद्यार्थीको पढाइबारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।