Aamsanchar

भीमेश्वरमा क्षमा पूजा गरियो

Author Image
शुक्रवार, साउन ११, २०८१

दोलखा – प्रसिद्ध दोलखा भीमेश्वरमा पसिना आएपछि शुक्रबार क्षमा पूजा गरिएको हो। एक साताअघि शनिबार एकै दिन दुईपटक पसिना आएको थियो। एक हप्ता नपुग्दै फेरि बुधबार दिउँसो १२:४५ देखि ३:१५ सम्म लगातार पसिना आएको थियो।

एक हप्ताभित्र नै तीन पटक पसिना आएपछि संकट टार्नका लागि शुक्रबार राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको छ। भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’का रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने प्रचलन छ।

सोहीअनुरूप राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री र जनताको तर्फबाट भीमेश्वरमा शुक्रबार बिहान ८:३० बजेबाट क्षमा पूजा गरिएको दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठले बताए। सरकारका तर्फबाट राष्ट्रपति कार्यालयबाट उपसचिव, प्रमुख जिल्ला अधिकारी,जनताकातर्फबाट जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा नागरिकहरूबाट क्षमा पूजा गरिएको हो। बिहीबार बेलुका राष्ट्रपति कार्यालयबाट उपसचिव दुईवटा कालोबोका र पूजा सामग्रीसहित दोलखा आएका हुन्।

 

भीमेश्वरको शिलामा शनिबार दिउँसो १:४७ बाट पसिना आउन सुरु भएर ३स्५१ मा रोकिएको थियो। लगतै ३:५१ पछि एकैछिन रोकिएर फेरि आउन सुरु गरेको पसिना ४:१५ मा रोकिएको थियो भने बुधबार पनि दिउँसो १२:४५ देखि ३:१५ सम्म पसिना आएको थियो।

शनिबार सुरुमा शिलाको बायातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि शिलाको बीचबाट पसिना आएको थियो भने बुधबार सबैतिरबाट पसिना आएको थियो। भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ।

शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठको भनाइ छ। भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’ राष्ट्रपति कार्यालयमा गत आइतबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भीमेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसहित १० जना राष्ट्रपति कार्यालयमा पुगेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर