इनरुवा- सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो । सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाजा फेला परेको हो । गाँजासँगै गाडीमा सवार धनकुटा सांघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षिय बुद्ध लिम्बुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ ।
भारतीय सीमातर्फ लैजाने क्रममा बरामद गाँजा सहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको नम्बर ४ गणले जनाएको छ ।
त्यसैगरी देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित ६ किलो गाँजा र भोक्राहा नरसिंह गाउँपालिका ८ बाट साइकल सहित ६ किलो गाँजा समेत बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ । पछिल्लो समय चेकजाँच र निगरानी बढाइएसँगै गाँजा लगायत तस्करीका सरसामान बरामद हुने क्रम बढेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको गाँजा र पक्राउ परेका व्यक्तिहरुको विषयमा छानविन भईरहेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका गाँजा तस्करहरुलाई सोमबार सुनसरी जिल्ला अदालतमा भ्याद थप गरि अनुसंधान थालिएको भण्डारीले जानकारी दिनुभयो ।