Aamsanchar

९२.४ प्रतिशत रोपाईं सम्पन्न

Author Image
सोमवार, साउन १४, २०८१

काठमाडौँ – साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९।६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाईं भएको थियो ।

सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात ९०.७ प्रतिशत रोपाईं भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाईं भएको थियो ।

सबभन्दा ढिलो रोपाईं हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाईं भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टर अर्थात ९२ प्रतिशत रोपाईं सम्पन्न भइसकेको छ, जब गत वर्ष यतिबेला त्यहाँ ५८।८ प्रतिशत रोपाईं मात्र भएको थियो ।

त्यस्तै बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये ९०.८ प्रतिशतमा रोपाईं सकिएको छ । गण्डकी प्रदेशको ९६ हजार ५३ हेक्टर क्षेत्रफलको ९१.९ प्रतिशतमा रोपाईं सकिसकेको छ ।

लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टरमा त्यहाँ रोपाईँ हुन्छ । त्यसमध्ये ९१.३ प्रतिशतमा रोपाईं सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाईं सकिएको कृषि मन्त्रालयले जनाएको छ ।

यसपालि समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण समयमा रोपाईं सम्पन्न भएको कृषि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा।हरिबहादुर केसीले बताए । साउनको अन्तिमसम्म शतप्रतिशत रोपाईं हुनेमा आशावादी रहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर