ऊ बेला नेपालको पूर्वी पहाडी जिल्लाका अधिकांश ढाक्रेहरू भारतको नक्सलवाडी बजारमा आफ्ना उत्पादनहरू बिक्री गरी आवश्यक सौदा लिएर फर्कन्थे । पहाडबाट आएका ढाक्रेहरू राती बास बस्ने, अर्को दिन भारतको नक्सलबाडी बजार पुगेर सामान खरीद बिक्री गरी पुन׃ सोही ठाउँमा आएर बास बस्ने भएकोले उक्त स्थान बास बिसौनीको रुपमा विकास हुँदै गयो । हालको बाहुनडाँगी बजार र जगेश्वर शिव मन्दिर भएको क्षेत्र आमडाँगीलाई ढाक्रेबासको नामले चिनिने गरेको भन्ने पाका पुराना
मानिसहरूबाट सुन्न पाइन्छ ।
भारतमा शासन गरिरहेको अंग्रेज शासकले भारतमा रेल मार्गको विकास गर्न आफ्नो वन जङ्गल जोगाएर नेपालबाट सालको काठ लगी प्रयोग गर्ने गरी नेपाल सरकारसँग सम्झौता ग¥यो । कोशी पूर्वको वन र वस्ती व्यवस्थापन गर्न जङ्ग बहादुर कार्कीलाई जिम्मा दिइएको थियो । उनी पूर्वी क्षेत्रका एक विद्वान र दार्जिलिङको संस्कृति र सम्यता बुझेका व्यक्ति थिए । तर कामको जिम्मेवारी दिनु पूर्व जङ्गबहादुरलाई आफ्नो नाम परिवर्तन गर्नु पर्ने भनी तत्कालीन नेपालका राणा शासकहरुले सर्त राखे । उनले नाम परिवर्तन गर्न नमाने पछि उनलाई देश निकाला गरियो । उनी भागेर भारतको दार्जिलिङ पुगे । त्यहाँ उनले स्व। रत्नकुमार कार्कीको ससुराली घर सँग परिचित भए र कालेबुङको विद्यालयमा पढाउन थाले । पछि राणा शासकहरुले शिक्षित तथा बहुप्रतिभाशाली क्षमताका धनी जङ्ग बहादुरलाई विभिन्न प्रलोभनमा नेपाल बोलाए र उनलाई नाम परिवर्तन गर्न बाध्य बनाए । जङ्ग बहादुर कार्कीलाई गञ्ज बहादुर कार्कीको नामबाट दोस्रो नागरिकता प्रदान गरि पूर्वाञ्चलको कप्तान पदवी दिए पछि उनले नै यस क्षेत्रमा बस्ती विकास गरेको पाईन्छ ।
कप्तान गञ्ज बहादुर कार्कीले बस्ती विकास गर्दै जाँदा राणा र आफ्नो नाम जोडेर विभिन्न गाँउको नामकरण गरेको पाइन्छ । देवीगञ्ज, बहादुरगञ्ज, नीर गञ्ज, नारायण गञ्ज आदि साबिक बाहुण्डाँगीका अन्य वडाहरुको नाम रहेको छ । यसरी ढाक्रेहरुको बास बसेर स्थापित बाहुनडाँगी ऊ बेलादेखि नै जंगली जनवारहरुको बासस्थान र जैविक मार्ग थियो भन्ने कुरा पनि बाघे खोल्सी, गैडे आहाल, हात्ती खर्क आदि ठाँउको नामबाट पनि पुष्टि हुन आउछ । नेपालमा महाभूकम्प गएको १९९० साल माघ २ गतेको भोलिपल्ट अर्थात १९९० साल माघ ३ गते स्थापना भएको ऐतिहासिक बाहुनडाँगी बजार आजसम्म विकसित र परिवर्तन हुन नसक्नु दुखद पक्ष रहेको छ ।
अनेकौ प्रतिकुलता बावजुत स्थानीय वासिन्दनहरुको आफ्नै पहल र पौरखमा देशभरी बाहुनडाँगी भन्ने नामले प्रख्यात हुन सफल यो ठाउँका आफ्नै विशेषताहरु रहेका छन । हाल मेचीनगर नगरपालिका ४ नं. वडा कार्यालयले यस ठाउँमा ग्रामीण पर्यापर्यटन माध्यमबाट स्थानीय समुदायको जीवनस्तर अभिबृद्धि गर्ने लक्ष्य लिएको छ । यसको लागि बाहुण्डाँगीलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले“संरक्षण गरौं प्रकृति र संस्कृति,पर्यापर्यटनको माध्यमबाट बनाऔ बाहुण्डाँगी” भन्ने नारा तय गरेर अगाडी बढिरहेको अवस्था छ ।
बाहुनडाँगी भन्ने बित्तिकै मानिसहरुले ठूला ठूला बथानमा मेची किनार र जनताको खेतीबालीमा विचरण गरिरहेका हात्ती सम्झिने गर्दछन । यस क्षेत्रमा जंगली हात्ती र मानिस बीच सधियौदेखि द्वन्द्व चलि आएको छ । यो द्वन्द्वको चपेटाबाट मानिस र हात्ती दुबैलाई नकरात्मक असर परिरहेको छ । मानव हात्ती द्वन्द्व न्यूनिकरण गरी सहअस्तित्व कायम गर्ने उद्देश्य बोकेर करीब ३० वर्षदेखि यस कार्यमा अहोरात्र लाग्दा थुप्रै तिता मीठा, सजिला अप्ठ्यारा भोगाइहरु पनि रहेका छन ।
बाहुण्डाँगीमा ग्रामीण पर्यटनको विकास र हात्ती मैत्री समाज निर्माण गर्ने अवधारणालाई साकार बनाउने हुटहुटी पुरा गर्ने क्रममा जनप्रतिनिधि भएर काम गर्ने अवसर प्राप्त भएको छ । ऐतिहासिक ढाक्रेबासलाई पर्यटकीय घरवासको रुपमा विकास गर्ने र हात्तीलाई अवसरको रुपमा ग्रहण गर्ने कार्यको थालनी पनि भएको छ । बालबालिकालाई चेतना, यूवालाई सृजना र बुढापाकालाई सन्तोषको वातावरण निर्माण गर्ने साथै आफ्नो कार्यकालमा एक लाख रुख विरुवा रोप्ने हाम्रो संकल्पलाई यहाँका समुदायले अनुमोदन गर्दै भारि मतले विजय गराएका हुन । उहाँहरुका सपना र हाम्रो वाचा पुरा गर्न हामी इमान्दारिपूर्वक लागिरहेका छौँ । यसै क्रममा समुदायलाई हात्तीसंग जोडेर पर्यापर्यटन तथा
जीविकोपार्जन र आयआर्जनका कृयाकलापहरु शुरु गरिएको छ ।
१, हात्ती मैत्री सामुदायिक होमस्टे
२,हात्ती मैत्री किसान समूह
३, हात्ती मैत्री नौमति बाजा समूह
बाहुण्डाँगीलाई हात्ती मैत्री नमूना गाउँको रुपमा बिकास गदै जाने,यहाँका हरेक मौलिक उत्पादनलाई हात्तीसंग जोडेर ब्राण्डीङ र बजारीकरण गर्ने, अर्गानिक मौलिक स्थानीय उत्पादनको माध्यमबाट घर घरमा धुँवारहित उद्यम सञ्चालन गर्ने हाम्रो अभियान रहेकोे छ । हस्तकला, ललितकला, संगीत लगायतका सृजनात्मक कार्यको थालनी भएको छ । पर्यटक एवं आगन्तुकहरुलाई स्थानीय मौलिक उत्पादनहरू नै मायाको चिनोको रुपमा दिने र उत्पादनको बिक्री बितरण गर्ने योजना रहेको छ । यहाँ सञ्चालन भएका होमस्टेको कारणले यहाँ आउने पर्यटक र होमस्टे सञ्चालक दुबैखुशी देखिन्छन्।
यहाँ तीन तले खेती, चिया सुपारी, मरिच, तेजपत्ता, कागती जस्ता एउटै बारीमा समेटिएको लोभ लाग्दो कृषि पर्यटन देख्न सकिन्छ । नेपालकै ठूलो गाई किसान, चिया किसान, सुपारी, तेजपात ,कागती किसान आफ्नै उत्द्पादनबाट सन्तुुष्टि हुन अथवा उचित मूल्यको लागि र आफ्नो ठाउँको पहिचानको लागि प्याकेजिङलाई प्रमुखतामा राखिएको छ ।
हात्तीले नखाने स्वास्थ्यकर तथा जनमुखी कार्यक्रम “तोरी मौरी, घर लौरी” कार्यक्रम अन्तर्गत तोरीको तेल उत्पादनबाट किसानहरुले राम्रो फाइदा लिन सफल भएका छन । यो एक धुँवा रहित उद्यम हो जसले तोरीको तेल र मह उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसबाट किसानलाई दोहोरो फाइदा भएको छ । हामी “तोरी मौरी, घर लौरी” कार्यक्रमको बिकास, बिस्तार र उत्पादनको ब्राण्डिङ्ग गर्ने प्रयासमा छौं । किसान आफैलेउत्पादन गरेको शुद्ध तोरीको तेल खान पाउनु, आफ्नै घरमा मौरीको मह उत्पादन हुनु साथै तोरी र मौरी दुवै हात्तीले मन नपराउनु यो कार्यक्रम सफलताको बिशेषता रहेको छ । यसबाट उत्साहित किसानहरुको माग र चाहना अनुसार तोरीको
मिल स्थापना प्रारम्भ भएको छ ।
नेपालमा हेपिएको हात्तीले नखाने तर मानिसले अति मन पराउने तरुलको प्रचारप्रसार र बजारिकरण गरी स्थानीय समुदायको आयआर्जन अभिबृद्धि र पर्यटकीय गतिबिधि बढाउने उद्देश्यले बाहुण्डाँगीमा तरुल उत्सव शुरु गरिएको छ । यो नेपालको ऐतिहासिक कामको रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय चर्चाको बिषय बनेको छ । तरुल उत्सवले भिरपाखा बाझो जमिन आदिमा खेती विकास भई किसानको आयआर्जन बढ्नुका साथै हाम्रो खानपिन संस्कृतिमा तरुलको महत्वबारे जनचेतना अभिबृद्धि भएको छ ।
परम्परागत मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले “प्रकृति र संस्कृति,पर्यटनको सम्पती” भन्ने नारा अन्तर्गत प्रत्येक टोलमा लिङ्गो पिङ स्थापना गरि मनोरञ्जनको साथै बालबालिकाले औशीको रात र पूर्णिमाको जून देख्न पाउने वातावरण निर्माण गरिएको छ । लिङ्गो पिङ खेल्ने क्रममा बालबालिकाहरुले झ्याउकिरीका आवाज र जुनकिरीका जादु देख्न पाए । फलस्वरुप बालबालिकाहरुले संस्कृतिको मनोरञ्जन लिने क्रममा प्रकृतिसँग रमाउन र अनुभुत गर्ने अवसर प्राप्त भएको पाइन्छ । यसरी आफ्नो मौलिक उत्पादन र स्थानीय लोक संस्कृतिको विकास गर्दैे आफ्नो क्षेत्रमा जे छ त्यो प्रचार गर्दै पर्यटनको यात्रा तय गर्दा आज यस क्षेत्रको समुदायलेकेही शान्तिका सास फेरेको अनुभूति गरेका छन्।
चिया सुपारी पर्यटनका आधार हुन भने भारतको दार्जिलिङ जस्तो विश्व चर्चित पर्यटकीय क्षेत्रको काखमा छौ । त्यहाँबाट पनि असल पाठ सिक्दै अघि बढी रहेको यस क्षेत्रले पश्चिम बंगाल सरकार सँग निकटतम सम्बन्ध राखेको छ । आसपासका क्षेत्रहरुमारहेका पर्यटकिय क्षेत्रहरुमा मिनीमाउन्टेन,कृष्णथुम्की,बटवृक्षले समेत पर्यटक लाई आनन्द दिने गरेको छ । बाहुण्डाँगीबाट १२ कि.मि.दुरीमा रहेको इलाम जिल्लाको सलकपुरको चिसो वातावरणमा सुन्तलाको स्वाद सँगै इण्डो नेपालका मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । त्यहाँबाट झण्डै २ कि.मि. पश्चिम जाँदा रमाईलो कन्याम डाँडा र अलि पर अन्तु पुग्न सकिन्छ । त्यस्तै गरी होचा भू–भाग कचनकवल किचकवद, शिवसताक्षी, दोमुखा, अर्जुनधारा, विराटपोखरी आदि एकैदिनमा घुमाउन सकिनेछ । पाहुनालाई होमस्टेमै बास बसाउने व्यवस्था गर्न सकिन्छ । आगामी दिनमा स्थानीय युवाहरुलाई नेचर गाइड तालिम दिने लक्ष्य पनि रहेको छ ।
हात्तीको हुल आउने सिजनमा आन्तरीक तथा बाह्य पर्यटकलाई हात्ती अवलोकन गराएर आर्थिक आर्जन गर्न सुरु गरिएको छ । त्यस्तै क्रस बोर्डर टुरिजम विकास गर्न मेची खोलाको तीरमा प्रकृति पार्क निर्माण गरीएको छ । हात्तीको मुर्ती र सुँडबाट निस्कने पानीको फोहराको साथै २२ धारामा बग्ने पानीलेसुन्दर, मनमोहक दृश्यलेबाहुण्डाँगीलाई पूर्वी नेपालको एउटा मुख्य पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न मद्दत पुग्ने बिश्वास लिइएकोछ । एकै बथानमा १५० भन्दा बढी संख्यामा आउने जंगली हात्ती सँग सहअस्तित्व कायम गरेर पर्यटकिय विकास गर्न त्यति सजिलो त छैन । तथापि हात्तीलाई रोक्न, छेक्न वा अन्यत्र पठाउन नसकिने र हात्तीले दुख दिएको कारणले यो ठाउँ छोडेर अन्यत्र जान पनि नसकिने बाध्यात्मक परिस्थतिमा मानव हात्ती सहअस्तित्व कायम गर्नुको बिकल्प पनि छैन । कुनै निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र नभएता पनि यति ठूलो संख्यामा बिचण गर्ने हात्तीबाट यहाँका वासिन्दाहरुमा परेको असर न्यूनिकरणको लागि राज्यबाट बिशेष बजेटको व्यवस्था हुन राष्ट्रिय र अन्तराष्ट्रिय सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराइएको छ ।
बाहुनडाँगीमा मानव–हात्ती सहअस्तित्व स्थापित गर्न स्थानीय युवाहरू सङ्गठित भएका छन् । गृन जेनेरेसनको अगुवाइमा र्यापिट रेसपोन्स टिम (आरआरटी) नाम संस्थाले विगत दुई वर्ष देखि मानव र हात्ती बिचको दन्द्ध न्यूनिकरणको लागि काम गर्दै आएको छ । हाल २५ जना युवाहरू आरआरटीमा आवद्ध रहेका छन् ।
राज्यको सानो सहयोग र सम्बोधनको अनुभूति हुन नसक्दा कता कता खिन्नता महशुस भएता पनि हामी भविश्यप्रति धेरै आशावादि छौं । यस क्षेत्रको नेतृत्वमा सिक्किममा लालिगुराँस कोलकातामा सुन्तला महोत्सव,सिलिगुडीमा आप महोत्सव,बाहुण्डाँगीमा एसियन ग्रामीण पर्यटन महोत्सव फुडफेस्टिवल दमक,इष्ट टुरिज्म मार्ट धरान,इलाम महोत्सव जस्ता ठुला शहरमा ग्रामीण पर्यटन आयोजना तथा सकृय सहभागिता गराई यस स्थानको भरपुर प्रचारप्रसार गरिएको छ । होमस्टेका महिला समुहलाई उत्साहित बनाउन सामुदायिक होमस्टे नेटर्वकका तर्फबाट विद्यार्थीलाई अनुसन्धान,सुझाव प्राप्त गर्ने अवसर प्राप्त भएको छ । यसैगरी कोशी प्रदेश पर्यटन मन्त्रालय,नेपाल पर्यटन बोर्ड, उज्यालो नेपाल लगायतका संघ संस्थाहरु स्थानीय सरकार र स्थानीय संस्था ग्रीन जेनेरेशन मार्फत स्थानीय तहमा कार्य सम्पादन गरिरहेको छ ।
यस्ता अन्तराष्ट्रिय संघ संस्थाहरुको ध्यानाकार्षण हुनुले यस क्षेत्रको ग्रामीण पर्यटन तथा प्रकृति पर्यटनमा उल्लेखनीय भविष्य देखिन्छ । स्थानीय सरकार र स्थानीय समुदायको समन्वय र सहकार्यबाट आज बाहुनडाँगी मानव हात्ती द्वन्द्व व्यवस्थापनको असल अभ्यासले विश्व सामु परिचत बन्न पुगेको छ । यही असल अभ्यास मानव वन्यजन्तु प्रभावित देशका अन्य क्षेत्रको लागि एउटा खुला पाठशाला हुनसक्छ । म देश, बिदेशका प्रकृतिप्रेमि, संरक्षणप्रेमि महानुभावहरुलाई बाहुनडाँगी भ्रमणका लागि हार्दिक अनुरोध गर्दछु ।
लेखक कार्की मेचीनगर नगरपालिका ४ का वडा अध्यक्ष हुन् ।