बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् ।
ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ ।
यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् । यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।
पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।
ईटी र ठटी टोल बीचमा बसोबास गर्ने स्थानीय महिलाहरुले विशेषतः तान्ने यस रथयात्रालाई स्थानीय नेवार भाषामा याकः मिसाया भुज्या भनिन्छ । जावलाखेलको खुल्ला मैदानमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । यसरी विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फवाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।
लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगवाट उन्लाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।
भोटो जात्राका नेवार भाषाका अन्य नामहरु
जा–ह्वला–जात्रा भनेर पनि स्थानीय भाषामा भोटे जात्रालाई भनिन्छ, यसै जा–ह्वला–जात्राका नामवाट ठाँउको नामनै जावलाखेल रहन गएको हो । यसको अर्थ भात छर्नु भन्ने हो, भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ ।
त्यसै गरी यस जात्रालाई प्वाकलं–जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो ।
आजको दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा हुन्छ, सदियौँदेखि चलिआएको यस जात्राले नेपाली सभ्यता, सँस्कार अनि ईतिहास वयान गर्दछ ।