Aamsanchar

मर्दी हिमालको आधार शिविरमा मानव अवशेष फेला

Author Image
आइतवार, साउन २०, २०८१

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमालको आधार शिविरमा शुक्रवार मानव अवशेष फेला परेको छ।

अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका २२ वर्षीय माइकल लिउको भएको पुष्टि भएको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको जानकारी दिए। ‘स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोबाइल आदिबाट लिउकै भएको पुष्टि गर्नुभएको छ,’ थापाले भने, ‘प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ।’ बेसक्याम्पको लाम डाँडामा हाड, आइफोन र केही कपडा फेला परेका छन्।

वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा प्रहरी बेस क्याम्प हिँडेको हो। हेलिकोप्टरबाट गए पनि अवशेष रहेका स्थानमा तीन घण्टामा हिँड्नुपर्ने अवस्था रहेको जनाउँदै प्रहरी प्रमुख थापाले भने, ‘अहिले हेलिकोप्टर उपलब्ध भएन। टोली पुग्न दुई दिन लाग्छ।’

आइतबार पालिकामा भएको छलफलपछि माछापुच्छ्रे गाउँपालिकाले स्थानीय भेडी गोठाला गोविन्द गौतम र होटेल व्यवसायी चिमनारायण गौतमलाई फेरि त्यहाँ पठाइएको छ। उनीहरूले शुक्रवार अवशेषका फोटो र भिडियो पठाएका थिए। थप जानकारी उपलब्ध गराउनका लागि गोविन्द र चिमनारायणलाई फेरि त्यहाँ पठाइएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर क्षत्रीले जानकारी दिए।

गएको पुस १४ गते मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटेल नफर्किएपछि उनको खोजी सुरु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर