Aamsanchar

धरान खानेपानी बोर्डमा १० दलले गरे तालाबन्दी

Author Image
आइतवार, साउन २०, २०८१

धरान-धरानको खानेपानी महशुल शुल्क अत्याधिक वृद्धि गरेको विरुद्ध खानेपानी बोर्डमा धरानको १० दलले तालाबन्दी गरेको छ । खानेपानी महशुल तथा शुल्क वृद्धि विरुद्ध १० दलीय संयुक्त संघर्ष समिति गठन गरी गत साउन ११ गते मौन जुलुस निकाली खानेपानि बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिएपनि हालसम्म केही सुनुवाई नभएकोले आईतबार संघर्ष समितिले भोलि (सोमबार) १० बजेसम्म वार्तामा आउन आग्रह गर्दै खानेपानी बोर्डमा तालाबन्दी गरेको छ ।

 

संघर्ष समितिको आह्वानमा धरान १ सिंहदेवी चोकदेखि छाता चोक हुँदै खानेपानी बोर्डसम्म खानेपानी महशुल वृद्धि विरुद्ध विरोध गर्दै “जनता ठग्न र मार्न पाईंदैन”, “खानेपानी बोर्डको हिसाव किताव सार्वजनिक गर”, “जन विरोध निर्णय खारेज गर”, “जनता लुट्न बन्द गर”, “नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धी खारेज गर” लगायतको प्ले कार्ड सहित सयौंको संख्यामा नागरिकहरुले नाराबाजी गरेको थियो ।

करिव एक दशक जति जनताको घरदैलोमा पुगेर जनताको सेवा गर्छु भन्दै धरानको मुख्य समस्या खानेपानीको समस्या समाधान गर्ने र जनताको अन्य हरेक समस्याहरुबारे आवाज उठाउँदै विरोध गर्दै आएका नगर प्रमुख राई आज जनताले नगर प्रमुख बनाएपछि जनताको नै ढाँड सेक्ने गरी खानेपानी महसुलमा वृद्धि गरेको भन्दै १० दलले करिव १० दिन देखि आन्दोलन गरेको हो ।

धरानमा खानेपानीको समस्या निकै ठुलो चुनौतीको रूपमा रहेको छ । यस खानेपानी समस्याको आंशिक रूपमा भए पनि हल गर्नको लागि नेपाल सरकार, एशियाली विकास बैंक र धरान उपमहानगर पालिकाको संयुक्त लगानीमा पुनः र्निर्माण तथा विस्तारको कार्य भई नेपाल सरकार र एसियाली विकास बैङ्कको सम्झौता अनुसार धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भई नेपाल खानेपानी संस्थान धरान शाखालाई बोर्डमा गाभ्ने प्रक्रिया पुरा भई हाल धरान खानेपानी व्यवस्थापन बोर्ड मार्फत खानेपानीको व्यवस्थापन कार्यमै रही धरान खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार सञ्चालन भइरहेको छ ।

उक्त निर्देशिका अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य रहने र ७ जना मध्ये बोर्ड बैठकबाट निर्णय बमोजिम अध्यक्ष रहने व्यवस्था रहे पनि हाल स्वतन्त्र उम्मेदवार नगर प्रमुख राई निर्वाचित भए पछि विगत २ वर्ष देखि बोर्डको बैठक नराखी स्वघोषित रूपमा बोर्डको अध्यक्ष रहेको विषयलाई लिएर बोर्डका तत्कालिन सदस्यहरूले उच्च अदालतमा उजुरी दर्ता गरि हालसम्म विचाराधिन अवस्थामा रहेको छ ।

बोर्डको बैठक नबसी एकलौटी रूपमा नगर प्रमुखले बोर्डको अध्यक्षको हैसियत बनाएर निर्णय गर्दै खानेपानीको महशुल तथा शुल्क अवैज्ञानिक रूपमा वृद्धि गरेको १० दलको आरोप रहेको छ । धरान खानेपानी व्यावस्थापन बोर्डको कार्यकारी समितीको बैठक नबसी गैर कानुनी रूपमा गतिविधी भएको र अदालतमा मुद्धा समेत विचाराधिन अवस्थामा रहेकोबेला खानेपानीको महशुल तथा शुल्क अचाक्ली वृद्धि गरिएको प्रति हामी १० राजनैतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको नेपालि कांग्रेसको धरान नगर सभापति श्याम पोख्रेलले बताउनुभयो ।

नयाँ धारा जडान न्युनतम ३३ देखी ३ सय प्रतिशतसम्म, होल चेन्ज १ सय ५० देखी २ सय ८० प्रतिशतसम्म, नाम सारी मृतकबाट २ हजार ४ सय प्रतिशत देखि ९ हजार ९ सय प्रतिशतसम्म, मर्मत तथा चेक १ सय देखि १९ सय प्रतिशतसम्म, महशुल ११ देखि २ सय प्रतिशतसम्म, निवेदन दस्तुर ४ सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ । मृतकको नाममा रहेको धारा नामसारी जस्तो मानविय संवेदना जोडीएको विषयमा यसरी १ हजार ९ सय देखी ९ हजार ९ सय प्रतिशत शुल्क वृद्धि कल्पना समेत गर्न नसकिने उहाँले बताउनुभयो ।

नयाँ धारा जडान ३ सय प्रतिशतसम्म महशुल वृद्धिले अव्यवस्थित बसोबास र नयाँ धारा जडान गर्ने सेवाग्राहीलाई प्रत्यक्ष असर गर्दछ भने व्यवसायीक प्रयोजनका लागी जडान गर्ने धारा र शुल्कमा २ सय प्रतिशत सम्मको वृद्धिले धरानको व्यवसायिक वातावरणलाई असर गर्ने साथै मर्मत तथा चेकमा १ हजार ९ सय प्रतिशतसम्म शुल्क वृद्धि र निवेदन दस्तुर ४ सय प्रतिशत वृद्धि हचुवाको पनि पराकाष्ठ भएको जनता समाजवादी पार्टी धरानको सभापति चाजुव लिम्बुले बताउनुभयो । साथै खानेपानीको महशुल तथा शुल्क वृद्धि गर्दा खानेपानी महशुल निर्धारण आयोगले निर्धारण गरेको दरमा मात्र लागु गर्न पाउने व्यवस्थालाई समेत उल्लङ्घन गरेको उहाँले बताउनुभयो ।

बढुवा भएको खानेपानिको विल धराने जनताहरूले अनुमोदन गर्न हुन्न भन्दै वृद्धि भएको खानेपानीको बिल नतिर्न सबै जनताहरुलाई नेकपा एमाले धरानको अध्यक्ष हर्कजङ एभेङले बताउनुभएको छ । यसमा सबै धरानवासीले विरोध गर्न आवश्यक रहेको हुनाले वृद्धि भएको महशुल खारेजीको माग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

जुलुस कार्यक्रममा नेकपा एमालेको पुर्व सांसद जय कुमार राई, धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, माओवादी केन्द्र धरान अध्यक्ष सर्वजित राई, नेकपा एकीकृत समाजवादी धरानका अध्यक्ष रेवतीरमण राई, लगायत १० दलको प्रतिनिधीहरु र सयौंको संख्यामा आम नागरिकहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर