सिरहा – हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनःनिर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरुले आन्दोलन घोषणा गरेका छन्। सिरहाका इन्जिनियरहरुको अगुवाइमा गठित सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन्।
सङ्घर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मंगलवार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो।
उक्त छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय गरेको हो। जसअन्तर्गत भोलि बिहीवार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ।
आगामी आइतवार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुस गर्ने सङ्घर्ष समितिले जनाएको छ। पुल पुनःनिर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम गरिने समितिका संयोजक यादवले बताए।
मधेशको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान सास्ती भोग्दै आएका छन्। बाढी आएको समयमा तीन गुणा बढी दूरी पार गरेरमात्र जनकपुर आवतजावत गर्नुपर्ने बाध्यता छ।
प्रदेश तथा सङ्घीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ।
करिब १३ वर्षअघि निर्माण भएर उद्घाटनको तयारी गरिएको वेला कमलामा आएको बाढीले पुल भासिएको थियो। उक्त पुल अझै पुनःनिर्माण नभएको हो।
केही दिनअघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए।
मुख्यमन्त्री सिंहले मधेशको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए।