Aamsanchar

अर्जुनधाराबाट भरुवा बन्दुक र चोरीको समानसहित तीन युवा पक्राउ

Author Image
आइतवार, साउन २७, २०८१

झापा-झापाको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी शनिश्चरेले शनिबार राति अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

गत साउन २५ गते राति अर्जुनधारा–७, मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति उनीहरूलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।

प्रहरीले उनीहरूको साथबाट चोरीको सामान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आदित्यको साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।

प्रहरीले चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत किराना पसलबाट बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर