Aamsanchar

मेयर हर्क साम्पाङ र १० राजनीतिक दलबीच ३ बुँदे सहमति

Author Image
सोमवार, साउन २८, २०८१

काठमाण्डौ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र आन्दोलनरत विभिन्न १० राजनीतिक दलबीच ३ बुँदे सहमति भएको छ । खानेपानीको शुल्क र महसुल बढाइएपछि तीन हप्तादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र मेयर साम्पाङबीच हिजो अबेरसम्मको लामो वार्तापछि सहमति भएको हो ।

सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

यही साउन ११ गते धरानमा क्रियाशील राजनीतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलनरत पक्षले विभिन्न सरोकारवाला सङ्घ–संस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यलयमा धर्ना तथा तालाबन्दी गरेका थिए । तर तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले गएको बिहीवारदेखि धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर