Aamsanchar

इलाममै तरकारीको मूल्य आकासियाे

Author Image
सोमवार, साउन २८, २०८१

इलाम- इलाम आफैं पनि तरकारी उत्पादन हुने जिल्ला हो । इलाममा उत्पादित तरकारी दैनिक रुपमा झापाका बजारमा निकासी हुने गरेको छ । झापाका चारआली, विर्तामोड, दमकमा इलामको तरकारी पुग्ने गरेको छ । तर यतिबेला इलाममै तरकारीको मूल्य आकासिएको छ ।

अहिले गोलभेडा प्रतिकिलो ८०, प्याज प्रतिकिलो एक सय, भिन्डी प्रतिकिलो १२०, वैगुन प्रतिकिलो १२०, बन्दागोपी प्रतिकिलो ६० रुपियाँ पुगेको छ । यसैगरी, अकबरे प्रतिकिलो चार सय रुपियाँमा खरिद बिक्री भइरहेको छ । आइतबार लाग्ने इलाम सदरमुकामको हाटमा समेत तरकारीको मूल्य बढेको पाइएको छ ।

सदरमुकाममै तरकारी व्यापार गर्दै आउनुभएका व्यापारी लक्ष्मी खत्रीले आजदेखि प्याज र गोलभेडाको मूल्य थप बढेको बताउनुभयो । ‘‘हिजो गोलभेडा ७०–८० रुपियाँ थियो, आज झर्नै गोलभेडालाई प्रतिकिलो एक सय रुपियाँले मैले भाउ काटिसकेको छ ।’’ खत्रीले भन्नुभयो, ‘‘प्याज त तीन दिन अघि १२० पुगेको थियो, केही दिनयता घटेर एक सय भएको छ, आजदेखि प्याज पनि बढ्ने सम्भावना छ ।’’

आफैंले उत्पादन गरेको अकबरे बिक्री गर्न इलाम बजार आउनुभएका दिपा पोख्रेल प्रतिकिलो चार सय रुपियाँका दरले अकबरे बिक्री गरेको बताउनुभयो । ‘‘यो वर्ष सुरुमै अकबरेको मूल्य राम्रो छ । राम्रो फलेको पनि ।,’’ पोख्रेलले भन्नुभयो, ‘‘बिक्री गर्दा चाँहि मूल्य राम्रै हो, तर अरु तरकारी चाँहि सधैँको तुलनामा निकै महङ्गो भएको हो ।’’

गोलभेडा उत्पादनको सिजन सक्किन लागेकाले पनि मूल्य बढेको व्यापारीहरु बताउँछन् । जिल्लाका धेरै किसानले बेमौसमी तरकारीका रुपमा टनेल भित्र खेती गरेको र हिउँदमा भन्दा वर्षायाममा उत्पादन कम हुने कारण तरकारी महङ्गो भएको बताइएको छ ।

तरकारीको मूल्य बढेपछि सदरमुकामसहित जिल्लाका बजार क्षेत्र र विद्यालय कलेज पढ्न डेरा बस्ने विद्यार्थीहरुलाई भने समस्या पर्ने गरेको छ । ‘‘घरबाट तरकारी ल्याउन धेरै टाढा छ, यहाँ किनेर खान पनि महङ्गो छ, कोठा भाडा र तरकारी किन्न निकै मुस्किल छ ।’’ ताप्लेजुङ्गबाट आएर इलाम डेरा गरिबस्ने विद्यार्थी सावित्रा पौड्यालले भन्नुभयो, ‘‘तरकारीको मुल्य बढेपछि विद्यार्थीहरु समस्यामा छन् ।’’

इलाममा उत्पादन हुने इस्कुस र काँक्राको पनि मुख्य सिजन यही हो । बजारमा कांँक्रा प्रति गोटा ६० देखि एक सय रुपियाँसम्म पर्ने गरेको छ । इस्कुस पनि प्रतिकिलो २० रुपियाँ पर्ने गरेको छ । इलाममा कति तरकारी उत्पादन हुन्छ र दैनिक कति टन तरकारी निकासी हुन्छ भन्ने यकिन तथ्यङ्क भने पाइदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर