भोजपुर – वर्षासँगै पहिरो खस्दा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडकखण्डको रुमाथुम्कीस्थित घुर्विसेमा पहिरो खस्दा आवतजावतमा समस्या भएको हो ।
टेम्केमैयुङ गाउँपालिका–९ स्थित उक्त स्थानमा ठूलो पहिरो खसेपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ ।
सडकमाथिबाट ठूलो पहिरो झरेपछि पैदलयात्रा गर्न समेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताए । “पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ,” उनले भने, “निरन्तर पहिरो झरिरहेकोले पैदल हिँड्न समेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ ।”
सडक अवरुद्ध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाई समेत समस्या रहेको टेम्केमैयुङ–९, पाँचधारेका स्थानीयवासी मानबहादुर सुनारले बताए ।
राउतेखोलाको शिर घुर्विसेमा पहिरो खस्दा तल्लो क्षेत्रका बस्ती समेत जोखिममा रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिब २० घरपरिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ ।