Aamsanchar

आजभोलि कहीँ गएर बोल्दा डर लाग्छ : थापा

Author Image
शुक्रवार, साउन ३२, २०८१

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यमले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। महामन्त्री थापाले सञ्चारमाध्यमले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिन पनि डर लाग्ने गरेको गुनासो गरे।

आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको कुरा दर्शकसम्म दश सेकेण्डको मात्रै पुग्ने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए। उनले राजनीतिभन्दा फरक विषय खोजी गर्नसके सञ्चारमाध्यमहरूको बजार थप हुने दाबी गरे।

महामन्त्री थापाले भने, ‘गीत, संगीत, कला जे जे भने पनि सबै हाम्रो राजनीतिक गतिविधिको वरपर घुम्न थालेको छ। त्योभन्दा पर जान सकेका छैनौँ। जसले गर्दा त्यो ओभर क्राउडेड भएको छ। सबभन्दा हामीले सही सूचना दिन सकेका छैनौँ। हामीलाई आजभोलि कहीँ गएर बोल्दा डर लाग्छ– मैले अहिले १० मिनेट यहाँ बोलेँ भने साँझ दर्शक र श्रोतासम्म दश सेकेन्डको मात्रै पुग्छ। त्यो दश सेकेण्डले मेरो १० मिनेटका भाव बोक्दैन। जसले बजाएको छ, उसलाई आज मैले देखाइदिएँ भन्ने लाग्छ। तर कुनै वेला ऊ आफैँ हेर्नेमा पर्छ। यसकारण हामी एक अर्काका पीडित हौं। हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिइराखेको छ। सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ। यसबाट माथि उठ्नुपर्छ।’

महामन्त्री थापाले सञ्चारमाध्यमहरूले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)