Aamsanchar

जनैपूर्णिमाका दिन गोसाईंकुण्डमा लाग्ने मेलाको तयारी पूरा

Author Image
आइतवार, भदौ २, २०८१

रसुवा – भोलि जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्डमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाईंकुण्डमा मेलाको तयारी पूरा भएको र यसपाली बिजुली बत्ती पनि बालिएकाले तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाईंकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

गोसाईंकुण्ड मेला भर्न आउनेको सुरक्षाका लागि एक सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन तथा बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहकोसमेत व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिनुभयो ।

तीर्थस्थल गोसाईंकुण्डमा पुग्ने तीर्थालु भक्तजनलाई रातको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । २०३८ सालमा रसुवामा विद्युत् सेवा विस्तार भए पनि गोसाईंकुण्डमा पहिलो पटक अस्ति शुक्रावार विद्युत् लाइन जडान गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईकाअनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाईंकुण्डमा दुई सयभन्दा धेरै बत्ती बालिएको छ । बिजुली पुर्‍याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, गोसाईंकुण्ड गाउँपालिका, स्थानियबासिन्दालगायतले सहयोग गरेका उहाँको भनाइ छ । चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्‍याइएको प्रमुख भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)