स होला कि २०१० सालतिर हिउँदमा पहिलोपल्ट म झापा झर्न पाएको तर यो २०११ साल पनि हुन सक्छ । हिउँदको छुट्टी भएको समय थियो । इलामबाट घर पाँचथरको पौवा गाउँ नगएर झापा झरेको मेरो पहिलो अनुभव ।
मेरो बुबाले एउटा मानिस साथ लगाएर इलामबाट मलाई बिहान झापा पठाउनु भयो । किशोर वयको थिएँ, उस बेला । मेरो बुबाको घोडा राम्रो थियो। सबैले मन पराउने नाम–डोमा । यो शुद्ध भोटे जातको घोडा थियो, मानिसको सबै कुरा बुझ्ने खालको । त्यही घोडामा मलाई माइखोला, चिसोपानी, सोक्तिम, लोदिया, गरुवा हुँदै खुदुनाबारी नाघेर झापाको मदनपुर (हाल अर्जुनधारा गाविस वडा नं.) मा कामतमा पुग्नु थियो। मेरो बुवाले उक्त कामत वि.सं. २००० सालतिर बुधबारेको कामतसँगै किन्नुभएको थियो। यी दुवै कामत पहाडका फेदीमै थिए ।
ठूलो साँझ हुँदा मात्र हामी जेमद्वारको घाँटीमा आइपुगेका थियौ । औंसीको छेक थियो क्यार निष्पट्ट अँध्यारो भैसकेको थियो । जङ्गलैजङ्गल नाँधेर आएका हामीले चिसोपानी र सोक्तिम कमानतिर मात्र केही घर मानव वस्ती भेट्यौँ होला र लोदियाको बाटामा । डरलाग्दा जंगल हुँदै हिंडिरहेका थियौं। जेमद्वारको सानो घाँटी छिरेर निस्कने क्रममा लडेको एउटा रुखमा तेर्सिएको हाँगामा मेरो देब्रे छाती जोडते ठोकियो । रुन मात्र सकिनँ । जसोतसो हिँड्यौं । मलाई लाग्छ हामी दुईजना मदनपुर कामत पुग्दा ११ बजिसकेको हुनुपर्दछ । त्यति बेला हातमा घडी थिएन । हातमा घड्डी हुनु भनेको उस बेला ठूलो कुरा हुन्थ्यो ।
कुन–कुन खोला नाला पार गयौं राति थाहा भएन, उज्यालो छँदै तरेको गरुवा खोलाबाहेक । भोलिका दिनदेखि बिस्तारै थाहा हुन थाल्यो हामीले सुखानी खोला र टाटिङ नाघेका रहेछौं । सुखानी खोला भने घरी नाघ्नु परेको थियो । हाम्रो कामतको पूर्वमा बग्दो रहेछ विरिङ खोला । कामतमा हाम्रो कारबारी एकजना बूढा तामाङ थिए । उनको थर पाख्रिङ । मेरो खानेपिउने र हेरचाह उनैको जिम्मा भयो । कामतमा उनलाई हेर्न सघाउने अर्का एकजना धिमाल थिए बसी धिमाल । पद उनको थियो–मुक्तियार ।
हाम्रा अधियार र ठेगदारहरूमा धेरैजसो धिमाल नै थिए । पहाडी मूलका मान्छेमा तामाङ तीन घर थिए । लिम्बू सुब्बाको कामत हुनाले दुईतीन घर लिम्बू थिए । इलामसँगै जोडिएको हुनाले इलामको दक्षिणी भेगका तामाङहरू कामतमा अधियार र ठेगदार हुन आइपुगेका थिए । हाम्रा सँधियार थिए एकजना भद्र मानिस जात तामाङ । छोटकरीमा उनलाई गोले काइँला भनेर सबैले चिन्दथे र सबैले मान गर्दथे । उनको नाम आज याद रहेन । उनको निकै जग्गा थियो ।
उनका सन्तान अहिले पनि त्यहीँ राम्ररी गरिखाँदै छन् । मैले पहाडे मूलका बाहेक अरु जातिका मानिस देखेको यो नै पहिलो पटक थियो– धिमाल जातिसँग जम्काभेट । उनीहरूको घर बिछट्टैको राम्रो र सुग्घर थिए । टाटीले बनेका र माटाले लिपेर चिटिक्क पारेको खरले छाएका साना–साना घर । चुलो छुट्टै । धान राख्ने ढिकुटी घर छुट्टै । घरका भित्तामा राम्र–राम्रा बुट्टाहरू बनाएका हुन्थे ।
उनीहरूले बनाएको चामलको पिठोका भक्का मीठो नलागे पनि मैले खान्थे । आजभोलि मात्र थाहा लाग्दैछ तिनले चामलको पीठो बफ्याएर बनाउँदा रहेछन् जसमा पछि मैले रुचि अनुसार नुन वा चिनी थपेर खान थालें ।
सर्ट र कछाड लाउने पुरुषहरू पहाडेको संगतमा अब सुरुवाल र हाफपैन्ट पनि आउन थालेका थिए । तर स्त्रीजातिले भने आफ्नै पहिरन – पेटानी । गहना तिनको चाँदीका हुन्थे । किन हो, के कारणले मधेसका स्त्री जातिले सुन नभएर चाँदी मात्र गहना लगाएको ? के यो उनीहरूभित्र विद्यमान टोटम हो ? कि उनीहरूमा व्याप्त गरिबीका कारण हो ? मैले उति बेला त बुझिन नै, हालसम्म पनि बुझेको छैन।
हाम्रो कामतको दुवैतिर ठूलाठूला खोला थिए पश्चिममा टाडटिङ र पूर्वमा विरिङ । हातमा जाली लिएर नजिकैको टाङटिङ र विरिङमा जान्थे उनीहरू माछा मार्न । बिरिङ तनैसाथ गढी गाउँ थियो। एकदुई घर भएको जसको केही पर एकजना बिल्टा थारुको आफ्नै जमिन र घर थियो। थारुतिर झापामा पश्चिमबाट आएका भन्थे । सप्तरी कि सिराहतिरबाट, कमलामाईको किनारतिरबाट भन्थे। म त त्यति बुझ्दैन थिएँ ती कुराहरू ।
दुईकिलोमिटर जति उता शनिश्चरे बजार थियो उहिले सारै नाम चलेको बजार । पूर्वी पहाड, विशेषतः ताप्लेजुङ, उत्तर–पूर्वको पाँचथर, इलामका लागि यो बजार जीवन–रेखा नै थियो। यही बजारबाट दैनिक आवश्यकताका स्तुहरू पहाड जान्थे । लत्ताकपडा, नुन, मट्टितेल र सूर्तीजन्य पदार्थहरू । पछि त सिमेन्टलगायतका घरनिर्माणका सामग्रीहरू पनि । सारतापको हाम्रो घर जसलाई मानिसहरू बिल्डिङ घर भन्दथे, त्यो घर बनाउँदा (वि.सं. २०११–१२ साल) सिमेन्ट सिलगढी (भारत) बाट ल्याएर यही शनिश्चरे बजार हुँदै पाँचथरको सारताप गाउँ पुगेको थियो । धेरैपछिसम्म, मलाई लाग्दछ २०२५ सालसम्म यहाँबाट नुन बोकाएर हामीले सारताप घरमा लाने गरेका थियौं। शनिश्चरे बजारबाट लगेको सूर्ती मसिना टुक्रा पारेर खुदोमा मलेर तयार पारेको कङ्कट (कक्कड) र सेतो पेपरमा बेरेर अम्मलीहरू खान्थे । हरेक बिहिबारे हाट र आइतबारे हाटमा इलाम बजारमा मैले चामलभन्दा बढी नै ती सूर्तीजन्य वस्तु विकेको वि.सं. २००५ देखि २०१० सालसम्म त्यहाँ पढ्दा देखेको हुँ ।
पछि झापा आएपछि शनिश्चरे बजारमा झापा जिल्लाका विभिन्न स्थानबाट १०० भन्दा धेर गोरुगाडा र राँगागाडामा सूर्ती विक्रीका लागि हरेक हाटका दिन ल्याएको देखें आफ्नै आँखाले । यत्रोविधि सूर्ती हाम्रा गाउँघरमा खपत हुँदा रहेछन् उसबेला । स्त्री वा पुरुष जो होस्, एउटा अम्मल नखाई नहुने । त्यसमा सूर्ती मुख्य थियो ।
म त हरेक हाटका दिन शनिश्चरे बजार आउँथे । बजारमा आएर गुलियो मिठाई र चिया खाइन्थ्यो। आवश्यकताका अनेक प्रकारका सरसामान, लत्ताकपडादेखि मरमसला, फलामका फाली, हँसिया, खुर्पा फिंजाएको जस्तै एकजना व्यापारीले विविध विषयको किताबहरू फिंजाएर बेचेको देख्थें। ती किताब पल्टाएर हेर्न र किन्न मनपथ्यों मलाई । पहाडेहरू दौरा सुरुवाल र मधेशीहरू आ–आफ्नै जातीय पहिरनमा सिंगारिएर आउँथे । धिमाल र सन्थाल महिलाहरू आकर्षणका केन्द्र हुन्थे । तर तिनको पहिरनमा भिन्नता हुन्थ्यो ।
ठूला जमिन्दारहरू थिए शनिश्चरेमा । तिनमा कहलिएका थिए उप्रेती, ढकाल र बुढाथोकीहरू । ती सबै ताप्लेजुङ र इलामबाट झरेका थिए । ढकालहरूको ठूलो राइस मिल थियो । ठूला–ठूला व्यापारीमा मारवाडी नै थिए ।
इलामबाट झर्दा ठूलो जंगल हुँदै डरसरी भएर आउन पर्दथ्यो । जेमद्वार, सुखानी, खुदुनाबारीसम्म नै ठूलो वनपछिसम्म नै थियो। जंगली जनावरको कमी थिएन । चराचुरुङ्गीले रूख, तिनका हाँगाहरू लछेप्रै ढाकेका देखिन्थे । बिहान बेलुका बकुलाहरूको ताँती हेर्न लायक हुन्थ्यो। टाडटिङ र बिरिङका बगरमा माछा ढुकेर बस्ने बकुला हेर्न मजा लाग्दथ्यो मलाई । हुट्टिट्याउँको आवाजले कान पनि खान्थ्यो त्यस बेलाको मदनपुरमा जसको अण्डा बगरतिर भेटिन्थे। दिउँसो घाम चर्केको गेला बिरह लाग्दो आवाजमा कुर्लन्थे । ढुकुर रूखका पातभित्र छलिएर बसेका । मैले दखेको छु– तराईका एक जातिका मानिस–व्याधा, जो प्वाल परेका बाँसका टुक्रा–टुक्रा बोकेर बाण पनि खोक्रोमा भिरेर ढुकुरको सिकार गर्दथे । चर्को घाम छल्न लुकेका कुर्लिनमा मस्त ती ढुकुरलाई काल नजिक आएको थाहा नै हुँदैनथ्यो । त्यो व्याधा बांसको खोक्रो आँख्लो जोड्दै–जोड्दै ढुकुरको नजिक पुरÞ्याएर त्योभित्रबाट तीखो सुइरोजस्तो बाणले प्रहार गरेर ढुकुर मार्दथ्यो। हरेक हप्ताजस्तो कताकताबाट धनु र तीर बोकेका पुरुषका साथ सन्थाल स्त्रीहरूको ठूलो हुल शनिश्चरेको बाटो हाम्रो गाउँ मदनपुर हुँदै खुदुनाबारी र सखानी, अझ पर जेमद्वारसम्म नै शिकारमा जान्थे । तिनका अधिपछि थुप्रै कुकुरहरू पनि हुन्थे । साँझपख फर्किदा कसैका काँधमा खरायो, कसैका हातमा चराहरू देख्तथें म ।
ठूला–ठूला जङ्गल थिए वरिपरि । भर्खरै बुधबारेतिर होक्से र गिद्देका वन फॉडिदै थियो जसलाई शरणार्थी वन भन्थे । २००७ सालको जनक्रान्तिताका पहाडमा ताप्लेजुङको विशेषतः आठराईतिरबाट विस्थापित भएकाहरूका पुनर्वासका लागि खोलिएको वन भन्थे उसबेला । हाम्रो पनि जग्गा त्यहाँ रहेछ बुबाले किन्नु भएको २००० सालतिर नै। अलि तल बाँस्तोला जिम्दार (नेपाली काँग्रेसका नेता चक्र बाँस्तोलाका पिता) को धेरै जमिन थियो। मदनपुरबाट कहिले–कहिले कारबारीले उता जाने व्यवस्था गरिदिन्थे, खास गरेर बुधबारका दिन । सो दिन त्यहाँ हाट लाग्दथ्यो । यो हाट भने विशेषतः पूर्वी इलामका लागि बढी आवश्यक रहेछ । तर शनिश्चरे जस्तो दुई–तीन जिल्लाका मानिसका लागि चाहिने उपभोक्ताको समान विक्ने बजारजस्तो भने होइन रहेछ ।
त्यति बेला पाखोबारीमा खुदुनाबारी होस् कि बुधबारे हिउँदमा पहेंलै तोरी फुलेका, फूलहरूमाथि चराचुरुङ्गी र मसिना कीथ्राहरू उड्दै हिँडेको हेर्न कति रमाइलो थियो, सम्झदा मनै प्रफुल्ल हुन्छ आज पनि। तोरी पहेंलपुर फुलेको वातावरणमा हिँड्नुको रोमाञ्चकता अर्कै हुन्छ नि । अनेक चराहरू उड्थे आकाशमा । त्यस बेला झापाको वनमा मृग, चित्तल, जरायोहरूको कमी थिएन । बनेल जेमद्वाराको वनैमा प्रशस्त विचरण गर्दथे। निकै पछिबाट चलेको हात्ती आतङ्क झापामा उति थिएन पहिले । अन्यत्रको वनजंगलले नै उनीहरूलाई पुग्दथ्यो कि बाँच्नका लागि ?
मदनपुर वा बुधबारेको हाम्रो तथा अरुका कामतमा पाटा खेती पनि प्रशस्त हुन्थे । झापाका ती पाटा पश्चिम नेपाल (विराटनगरतिर) भन्दा भारततिर धानजस्तै पैठारी गरिन्थे । धान त कति उब्जन्थ्यो होला । सबै पैठारी गरे पनि खानलाई पुग्दथ्यो भन्दथे । नेपाल राइस मिलहरूले उसिना चामल बनाएर भारततिर पठाउँथे ।
दुई तीन वर्ष म हरेक सालझै नै मधेश (मदनपुर र बुधबारे) झरेका सम्झना अलि–अलि छ । त्यसपछि भने धेरै वर्ष झर्न सकिनँ। वि.सं. २०१९ सालमा झरेको सम्झना छ । अँ, त्यसपछिका दिनमा भने साल विराएर झरेको छु । म पहिलेको झापा र पछिको झापासँग तुलना गर्दथे मनमनै त्यसवेला, आजको जस्तै । धानको मिलहरू बढ्न थालेका थिए। बाटाहरू पनि फराकिला हुँदै थिए । शनिश्चरे बजारको महत्व घटिसकेको थिएन । विंडी र सिग्रेटको उपभोग बढे पनि सूर्ती पहाडतिर नुनभन्दा बढी गइरहेका थिए । खाने तेल, मट्टितेल र लुगाफाटा पनि उकालो पहाडतिर जाँदै थियो। ट्रक र जीप गाडीको प्रयोग बढ्दै थियो तर पछिसम्म इलामतिर तथा इलामका सुदूर दक्षिणका गरुवा, लोदिया, चिसापानी र चार खोलाका गाउँघरमा मालमत्ता ढुवानी गरिने घोडाको प्रयोग निकै पछिसम्म घटेको थिएन । वनजंगलमा पशुपन्छी उतिकै थिए । हाल आवादी भनेर वा बढ्दो मानव बस्तीका लागि चाहिने काठका लागि रूख कटानी गरे पनि जङ्गल बाक्लै हरिया थिए ।
निकै पछि मात्र सेलर मिल आयो झापामा । धान–चामल विदेशमा पैठारी गरिन्थे । हाम्रा तोरी र पाटाझैंैं तर त्यो अवस्था धेरै दिन टिकेन । धमाधम बन्द हुन थालेको सेलर मिलसँगै पाटाको खेती पनि अब समाप्त भयो। तोरी त नमुनाका लागि खेती गरेजस्तो कसैकसैले गरेको पाइन्छ । यिनका साथै हाम्रो यो उपभोग्य वस्तुका लागि परनिर्भरता बढेर गयो आज । चामल र काठ पनि हामीले बाहिरका देशबाट ल्याएर गर्जो टार्दछौं आजका दिन ।
त्यस बेलाको झापाको मेरो गाउँ सम्कँदा मन बरालिन्छ ।
वैरागी काईला नेपाल प्रज्ञा–प्रतिष्ठान पूर्व कुलपति हुन ।