Aamsanchar

दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीको कीर्तिमान ताेडियाे, यी ब्याटरले एकै ओभरमा बनाए ३९ रन

Author Image
मङ्गलवार, भदौ ४, २०८१

काठमाण्डौ – सामोआका विकेटकीपर ब्याटर डेरियस विस्सरले पुरुषको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै बनाउने कीर्तिमान बनाएका छन् ।

आईसीसी पुरुष टी–२० विश्वकप पूर्वी एशिया–प्रशान्त क्षेत्र छनोटअन्तर्गत भानुआतुसँगको खेलमा सामोआका विस्सरले एक ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान बनाएका हुन् । खेलको १५ औँ ओभरमा उनले भानुआतुका नलिन निपिको बलमा ६ वटा छक्कासहित अतिरिक्त रनको मद्दतमा ३९ रन जोडेका हुन् । पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा लगातार ६ वटा छक्का प्रहार गर्ने कीर्तिमान यसअघि नै बनिसकेको थियो तर एकै ओभरमा ३९ रन अहिलेसम्मकै धेरै हो ।

यसअघि पाँच पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै टिमले एकै ओभरमा ३६ रन बनाएको थियो । सन् २००७ मा भारतका युवराज सिंहले इङ्गल्यान्डका स्टुअर्ट बोर्डलाई एक ओभरमा ६ वटा छक्का प्रहार गर्ने पहिलो ब्याटर बनेका थिए । त्यसपछि सन् २०२१ मा वेस्ट इन्डिजका कायरन पोलाडले श्रीलङ्काका अकिल धनन्जयलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै सन् २०२४ मा नेपालका दीपेन्द्रसिंह ऐरीले कतारका कमरन खानलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै एकै ओभरमा ६ वटा छक्का प्रहार नभए पनि सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानसँगको खेलमा वेस्ट इन्डिजका निकोलस पूरन तथा सन् २०२४ मै अफगानिस्तानसँगको खेलमा भारतका रोहित शर्मा र रिङ्कु सिंहले मिलेर एकै ओभरमा ३६ रन जोडेका थिए ।

यसैगरी सामोआका डेरियस विस्सर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने देशको पहिलो ब्याटर बनेका छन् । यस्तै आजको खेलमा सामोआले १ सय ७४ रन बनाएकोमा उनी एक्लैले १ सय ३२ रन जोडे, यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा टिमको रनको तुलनामा ब्याटरले बनाएको रनको उच्चतम प्रतिशत हो । यो खेलमा सामोआ १० रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर