Aamsanchar

इलाममा ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण

Author Image
बुधवार, भदौ ५, २०८१

इलाम – पछिल्लो समय इलाममा ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढेको छ। मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरू व्यावसायिक ड्रागन फ्रुट खेतीमा लागेका हुन्।

जिल्लाको चुलाचुली गाउँपालिका-३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन्। एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर आठ लाख र बिरुवा बिक्री गरेर चार लाख आम्दानी गरेका छन्। ‘गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी गरेको थिएँ’, उनले भने, ‘यो वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ। आम्दानी बढ्ने अपेक्षा छ।’

तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी खेती शुरु गरेका लिम्बूले मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोपेका छन्। उनले उत्पादन गरेको ड्रागन फ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन। व्यापारीहरू बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन्। उनले उत्पादन गरेको ड्रागन फ्रुट झापाको दमकमा खपत हुने गरेको छ।

लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ। आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको उनले बताए।

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका-२ का माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन्। उनले छ कठ्ठा जमिन भाडामा लिएर ४०० बोट ड्रागन फ्रुट रोपेका छन्। उनले लगाएका सबै बोटबाट उत्पादन हुन थालेका छन्। ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती शुरु गरेका हुन्। ‘मैले ड्रागन फ्रुट खेतीबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छु’, उनले भने, ‘अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुने रहेछ।’

ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ। यो फलेको ३०औँ दिनमा खानयोग्य हुन्छ। टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रने हुन्छ। ड्रागनफ्रुट वर्षमा छ महिनासम्म निरन्तर फल्छ। यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ। गर्मी समयको जेठ दोस्रो सातादेखि मंसिर दोस्रो सातासम्म मुख्य रूपमा फल दिने गर्दछ। ड्रागन फ्रुटको बिरुवा रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ।

समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट पूर्वी नेपालमा नौलो फल हो। यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ। एउटै बोटबाट पनि अरु बिरुवा वृद्धि गर्न सकिन्छ। एकपटक बिरुवा लगाएपछि समय-समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताए।

ड्रागन फ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ। यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ। यो फल वार्षिक ५० देखि १५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ। नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञ बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर