Aamsanchar

दाङमा टिमुर उत्पादनमा वृद्धि

Author Image
शुक्रवार, भदौ ७, २०८१

घोराही- दाङमा टिमुर उत्पादनमा वृद्धि भएको छ । जिल्लाका पहाडी क्षेत्रका किसान टिमुरको व्यावसायिक उत्पादनमा जोडिएपछि टिमुरको उत्पादनमा वृद्धि हुँदैआएको छ ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार जिल्लामा टिमुर उत्पादनमा वृद्धि भएसँगै बाहिर निकासी समेत बढ्न थालेको छ । टिमुर रोप्नका लागि निःशुल्क विरुवा वितरणसँगै थोरै लागनी र कम मिहिनेतमा सजिलै टिमुर खेती गर्न सकिने भएकाले पहाडी क्षेत्रका किसानले व्यावसायिक रूपमै टिमुर खेती गर्न थालेको डिभिजन वन कार्यालय दाङका बरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्य बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा राष्ट्रिय वनबाट २० हजार एकसय ३५ केजी र निजी वनबाट एक लाख ४९ हजार छ सय ७० केजी गरी एक लाख ६९ हजार आठसय पाँच केजी टिमुर उत्पादन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६४ हजार केजी बढी हो ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७९–८० मा राष्ट्रिय वनबाट १८ हजार केजी र निजी वनबाट ८२ हजार नौ सय ६ गरेर एक लाख पाँच हजार नौ सय ६ केजी टिमुर जिल्लामा उत्पादन भएर बाहिरी जिल्ला निकासी भएको थियो ।

यसैगरी जिल्लामा आर्थिक वर्ष २०७८–७९ मा दुई लाख ४१ हजार सातसय ४२ केजी टिमुर बिक्री भएको थियो । जसमध्ये राष्ट्रिय वनबाट २९ हजार पाँचसय ५० केजी र निजी वनबाट दुई लाख १२ हजार एकसय ९२ केजी टिमुर जिल्लाबाट बिक्री भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा राष्ट्रिय वनबाट ४० हजार ५ केजी र निजी वनबाट एक लाख ३७ हजार केजी गरेर एक लाख ७७ हजार पाँचसय केजी र आर्थिक वर्ष २०७६–७७ मा ९६ हजार सातसय ४५ केजी टिमुर बिक्री भएको थियो । पछिल्लो पाँच बर्षको तथ्याङकले जिल्लामा टिमुर उत्पादन वृद्धि हुँदैगएको देखाएको छ ।

उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्रलाई टिमुर पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । हावापानीका दृष्टिले टिमुर उत्पादनका लागि दाङको पहाडी क्षेत्र अनुकूल रहेको भन्दै डिभिजन वन कार्यालयले २०७६ मा टिमुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रत्येक वर्ष टिमुरका बिरुवा निःशुल्क वितरण गर्दैआएको बरिष्ठ वन अधिकृत आचार्यले बताउनुभयो ।

यसबिचमा करिब तीन लाख बढी टिमुरका बिरुवा रोपिएका छन् । बंगलाचुली गाउँपालिका तथा घोराही उपमहानगरपालिका –१९ का विभिन्न स्थानमा व्यक्तिगत तथा समूहका माध्यमबाट समेत टिमुर खेती हुने गरेको छ ।

व्यवसायी टिमुर उत्पादनले किसानको आयआर्जनमा वृद्धि भएको भन्दै बरिष्ठ वन अधिकृत आचार्यले भन्नुभयो, ‘थोरै लगानी र कम मिहिनेतमै टिमुर खेतीबाट राम्रो आम्दानी हुने गरेको छ । उत्पादन भएको टिमुर बिक्रीमा पनि समस्या छैन, घरबाटै व्यवसायीले लैजाने गरेका छन् ।’

टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बंलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाको पहाडी क्षेत्रलाई लिने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर