Aamsanchar

  जंग फुड नियन्त्रणका लागि विप्लव माओवादीको अपील, शैक्षिक संस्थाले असहयोग गरे प्रतिरोध गर्ने चेतावनी 

Author Image
सोमवार, भदौ १०, २०८१

बिर्तामोड । झापाका शैक्षिक संस्थालाई एक महिनाभित्रमा जंगफुड प्रतिबन्ध गर्न र प्रवेशद्वारमा अनिवार्य सीसी क्यामरा जडान गर्न नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीले आग्रह गरेको छ ।

एक महिनाभित्रमा निजी तथा सामुदायिक विद्यालयले जंगफुड निषेध नगरे विद्यार्थी संगठन तथा पार्टीका जनवर्गीय संगठनहरुले प्रतिरोध गर्ने चेतावनी दिएको छ । जंगफुडका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखापर्दा समेत विद्यालय जस्तो जिम्मेवार निकाय मौन बस्नु आश्चर्यजनक भएको नेपाल कम्प्युनिष्ट पार्टी झापाका इञ्चार्ज सुमन सिंहले बताए ।

बिर्तामोडमा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट विप्लव माओवादीले जंगफुडका कारण विद्यार्थीमा अत्यधिक कम तौल, टाइप टु मधुमेह, उच्च रक्तचाप हृदय रोग कोलेस्ट्रोल, मृगौला रोग, डिप्रेशन, क्यान्सर लगायतका समस्या देखापर्न थालेको भन्दै स्वास्थ्यप्रति सजगता अपनाउन अभिभावक र विद्यालय सञ्चालकलाई आग्रह गरेको छ ।

विद्यार्थीको स्वास्थ्यमा ध्यान दिँदै सन्तुलित भोजनका लागि प्रेरित गर्न जंगफुड अनिवार्य रुपमा निषेध गर्नुपर्ने झापा इञ्चार्ज सुमनको भनाइ छ । उनले विद्यालयहरुमा विद्यार्थीहरु माथि आक्रमण, विद्यालय परिसरबाटै बालबालिका हराउने लगायतका अपराधका घटना न्यूनीकरण गर्नुका साथै पठनपाठनलाई प्रभावकारी बनाउनका लागि पनि शिक्षण संस्थाको प्रवेशद्वारमा अनिवार्य रुपमा सीसी क्यामरा जडान गर्नुपर्ने र सेक्युरिटी गार्डको व्यवस्था गरिनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीले विभिन्न समयमा लागूऔषधबिरुद्ध सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै माध्यमिक तह र उच्च माध्यमिक तहका विद्यार्थीहरु अधिक दुव्र्यसनको प्रभावमा परेको भन्दै शिक्षण संस्था र अभिभावक जिम्मेवार बन्नुपर्ने विप्लप माओवादीले जनाएको छ । संविधानमै शिक्षण संस्थाको निश्चित क्षेत्रभित्र दुव्र्यसनजन्य वस्तु बेचबिखनमा प्रतिबन्ध लगाइए पनि खुलेआम रुपमा प्रतिबन्धित वस्तु बिक्री वितरण भइरहेको भन्दै त्यस्ता कार्य तत्काल नरोकिए आफूहरु कडा रुपमा प्रस्तुत हुने नेपाल कम्युनिष्ट पार्टी झापाका सचिव सञ्जय सिले बताए ।

स्वास्थ्य, सुरक्षा तथा विद्यार्थीहरुको सुरक्षाका विषयमा विद्यालय सञ्चालक जिम्मेवार बन्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीको ठहर रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा युवा संगठन नेपाल झापाका इञ्चार्ज मणि सि, विद्यार्थी संगठन अखिल समाजवादी झापाका इञ्चार्ज विनोद सि, अखिल नेपाल महिला संघ क्रान्तिकारी झापाका इञ्चार्ज रोशनी सि, समाजवादी ट्रेड युनियन मजदुर संगठन झापाका इञ्चार्ज कुमार सि, किसान संगठन झापाका इञ्चार्ज डेगनाथ सि, श्रमिक समुदाय झापाका इञ्चार्ज रिवाज सि र शिक्षक संगठन झापाका इञ्चार्ज भिष्म सिले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति जारी गर्दै जंगफुड निषेध अभियानमा सबै लाग्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालयहरुले जंगफुड निषेध गर्दै विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशिल बन्नुपर्ने धारणा राखेको छ । अहिले अधिकांश मानिस विभिन्न रोगका कारण उपचारमा सहभागी हुँदा चन्दा माग्नुपर्ने अवस्था आएको भन्दै खानपानमा ध्यान दिन जरुरी रहेको निष्कर्ष निकालेर नेपाल कम्युनिष्ट पार्टीले झापाबाट यो अभियान सञ्चालन गरेको जनाइएको छ ।

एक महिनाभित्र सम्पूर्ण शैक्षिक संस्थाहरुलाई जानकारी गराइसक्ने र पार्टी र जनवर्गीय संगठनहरुले विभिन्न समयमा विद्यालयहरुको अनुगमन गर्ने जनाइएको छ । विद्यार्थीद्वारा सञ्चालित क्यान्टिनहरुमा पूर्णरुपमा जंगफुड निषेध गर्नुपर्ने जनाइएको छ । विप्लव माओवादीले जंगफुड निषेधका विषयमा झापामा रहेका शैक्षिक सरोकारवाला निकायसँग छलफल र अन्तरक्रियालाई समेत तीव्रता दिने जनाइएको छ ।

प्याब्सन, एनप्याब्सन, जिल्ला शिक्षा समन्वय समिति, स्थानीय तहमा रहेका शिक्षा शाखा, अभिभावक तथा शैक्षिक सरोकार राख्ने संस्था र संगठनहरुसँग जंगफुड प्रतिबन्ध र कार्यान्वयनका विषयमा छलफल र अन्तरक्रिया गरेर अन्य कार्यक्रमहरु तय गर्ने झापा इञ्चार्ज सुमन सिले जानकारी दिए । आफूहरुको अभियानमा कुनै पनि शैक्षिक संस्थाले असहयोग गरेमा उनीहरु बिरुद्ध प्रतिरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर