धरान – धरान उपमहानगरपालिका-३ स्थित माछाभौडिमा बहिनीजुवाइँको छुरा प्रहारबाट जेठीसासूकी छोरीको मृत्यु भएको छ। घरायसी झगडाका कारण खाँदबारी नगरपालिका-२ संखुवासभाका ३३ वर्षीय बबिन बरालले छुरा प्रहार गर्दा १४ वर्षीया बालिकाको मृत्यु भएको छ।
बरालले घरझगडाका कारण धरान-३ कि नातामा जेठी सासू पर्ने सिर्जना राई(शाही)लाई छुरा प्रहार गर्न थालेपछि उनकी छोरी युजिना शाही छुट्याउन पुगेकी थिइन। बरालले आमा छोरीलाई नै छुरा प्रहार गरी घाइते बनाएर फरार भएका थिए।
गम्भीर घाइते भएका दुवैलाई स्थानीयले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए। उपचारका क्रममा छोरी युजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए।
घाइते सिर्जनाको उपचार भइरहेको उनले बताए। आमाछोरीलाई छुरा प्रहार गरी फरार रहेका बराललाई वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब निरीक्षक रुद्रबहादुर खडका नेतृत्वको टोलीले पक्राउ गरेको छ।
बरालको साथबाट आक्रमणमा प्रयोग गरिएको छुरा बरामद गरेको प्रहरीले जनाएको छ। बराललाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइ घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए।