Aamsanchar

विराटनगरमा निर्मित शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न पहल गरिने

Author Image
बिहिवार, भदौ १३, २०८१

विराटनगर – मोरङको विराटनगरमा निर्मित शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न संघीय सरकारले पहल गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगरको रोडशेष चोकस्थित संरचनाको बिहीबार निरीक्षण गर्दै सञ्चालन गर्न पहल गर्ने घोषणा गरेका हुन् ।

“यति राम्रो संरचना बनेको रहेछ । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय गरेर सञ्चालनमा ल्याउनेछ । बनेको स्थिति र पूर्वाधार उपयोग गरिनेछ,” उनले भने, “धेरै कुरा बनिसकेको छ । नयाँ संरचना बनाएर खर्च गर्ने अवस्था छैन । बनेकोलाई सञ्चालनमा ल्याउने हो । यो ढंगबाट विकास भएको छ भन्ने अनुमान थिएन । क्याथल्याब र जनशक्ति संघीय, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा बनाउने ।”

गंगालाल हृदयरोग उपचार केन्द्रले जनशक्ति उपलब्ध गराउने प्रबन्ध संघीय सरकारले गर्ने उनले बताए । तीनै तहका सरकारको समन्वयबाट विराटनगरमा हृदयरोग केन्द्र सञ्चालनमा ल्याइँदा धेरै सर्वसाधारणलाई फाइदा पुग्ने उनले उल्लेख गरे ।

शैलजा आचार्य हृदयरोग केन्द्र तत्कालीन मुख्यमन्त्री केदार कार्कीका पालामा सञ्चालनमा ल्याइएको थियो । कोरोनाकालमा नेसनल ट्रेडिङको भवनमा उक्त अस्पताल सञ्चालन गरिएको थियो । पछि कार्की नेतृत्वको सरकारले त्यो संरचनामा सुधार गरी हृदयरोग केन्द्र सञ्चालनको घोषणा गर्दै तयारी गरेको थियो ।

मन्त्री पौडेलले बिहीबारै कोसी अस्पतालमा क्यान्सर उपचार केन्द्रको उद्घाटन गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर