Aamsanchar

झापामा कनकाई नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो

Author Image
बिहिवार, भदौ १३, २०८१

झापा ।  झापाको कनकाई नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो बन्न सफल भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको संस्थागत क्षमता स्वमूल्यांकन अन्र्तगत झापाका स्थानीय पालिकाहरूमा कनकाई पहिलो भएको हो ।
झापाका पन्ध्र स्थानीय तह मध्ये ८५ दशमलब ५० अङ्कका साथ कनकाई नगरपालिका झापाको उत्कृष्ट नगरपालिका बनेको छ । त्यसपछि ७७ अङ्कका साथ झापा गाउँपालिका दोस्रो, ७६ दशमलब ५० अंकका साथ दमक नगरपालिका तेस्रो र ७५ दशमलब ७५ अङ्कका साथ मेचीनगर नगरपालिका चौथो भएका छन् ।

यसैगरी, बाह्रदशीले ७३.७५ अंक, शिवसताक्षीले ७३ अंक, भद्रपुरले ७२.२५, कमलले ७१.२५, गौरादहले ६४.२५, गौरीगञ्जले ६३, कचनकबलले ६०.७५, अर्जुनधाराले ६०.२५, बिर्तामोडले ५९.५०, हल्दिबारीले ५२.२५ र बुद्धशान्तिले ४३.७५ अंक प्राप्त गरेका छन् । गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी गुणस्तर परीक्षण गरेर उक्त नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

यो मूल्याङ्कन आर्थिक वर्ष २०७९/०८० को हो । विगतमा उत्कृष्ट नतिजा ल्याउने गरेका बिर्तामोड यसपटक खस्किएको छ भने कनकाईले आफ्नो उत्कृष्टताको विरासत कायमै राखेको छ । मेचीनगरले भने विगतमा खस्किने गरेको नतिजा यसपालि उल्लेख्य मात्रामा सुधार गरेको देखिन्छ । बुद्धशान्ति गाउँपालिका भने झापाका पालिकाहरू मध्येमा नतिजामा अन्तिममा परेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषय क्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर